Skip to main content

गुल्मीमा स्क्रब टाइफसबाट महिलाको मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका–४ की ३५ वर्षीया सीता पोख्रेलको स्क्रब टाइफसबाट उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको छ। मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएपछि अस्पताल प्रशासनले कमजोरी स्वीकार गरेको छ। अस्पतालले आगामी दिनमा गम्भीर अवस्थाका बिरामीलाई निगरानीमा राख्ने र सेवा प्रवाह सुधार गर्ने लगायतका विभिन्न निर्णय गरेको छ। १८ साउन, गुल्मी।

गुल्मीमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–४ जैसिथोककी करिब ३५ वर्षीया सीता पोख्रेलको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो। प्रहरीका अनुसार १४ साउनमा पोख्रेललाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। सामान्य उपचारपछि चिकित्सकको सल्लाहअनुसार ७२ घण्टापछि समस्या देखिए पुनः अस्पताल आउन भन्दै सोही दिन डिस्चार्ज गरिएको थियो। त्यसपछि १८ साउनमा पुनः स्वास्थ्य समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बिहान ११ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

मृत्युपछि आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका थिए। अस्पतालले बिरामीको भर्ना नगर्नु कमजोरी भएको स्वीकार गरेको छ। बिरामीको मृत्यु भएको घटनापछि अस्पतालले सेवा सुधारका लागि विभिन्न निर्णय गरेको छ। अस्पतालमा बसेको छलफलले आगामी दिनमा गम्भीर अवस्थाका बिरामीलाई मध्याह्नसम्म निगरानीमा राखी आवश्यक परे भर्ना गरेर उपचार गर्ने निर्णय गरेको छ। त्यस्तै, यस्ता घटनाको प्रतिवेदन तयार गरी आवश्यक निर्णयका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरिएको छ।

छलफलले अस्पतालको ट्राफिक तथा सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन सरोकारवालासँग समन्वय र बैठक गर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ। बिरामीको प्रत्यक्ष उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई व्यवहार परिवर्तन तथा सेवामुखी तालिम प्रदान गर्ने निर्णय पनि गरिएको छ। बिरामीको मृत्यु घटनापछि अस्पतालले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा जोड दिने जनाएको छ।