Skip to main content

गर्भाशयभित्र शल्यक्रिया गरेर ‘अद्भुत’ शिशुको उपचार

डाक्टरहरूले गर्भमै रहेको शिशुको जन्मजात समस्यालाई सफलतापूर्वक सुधार गर्न अत्याधुनिक शल्यक्रिया गरेका छन्। लन्डनकी मेईजी स्याभिज गर्भवती भएकी २६ औँ हप्तामा अमेरिकामा चिकित्सकहरूको एक टोलीले उनको गर्भाशयमै शल्यक्रिया गरेको थियो। अहिले पाँच महिनाका भइसकेका र स्वस्थ रूपमा हुर्किरहेका शिशु थीओलाई जन्मनुअघि नै ‘ग्यास्ट्रोस्किसिस’ नामक समस्या थियो। यस अवस्थामा आन्द्रा पेटबाहिर विकास हुन्छ।

शल्यक्रियाका क्रममा चिकित्सकहरूले थिओकी आमाको गर्भाशयलाई आंशिक रूपमा बाहिर निकालेर सानो चिरा पार्दै शल्यक्रिया प्रविधिको प्रयोग गरी शिशुको पेट बाहिर रहेका आन्द्रा र अन्य अङ्गहरू सावधानीपूर्वक पुनः पेटभित्र राखेका थिए। यस्तो विश्वकै नवीनतम चिकित्सा परीक्षणबाट लाभ उठाउने थिओ संसारका तेस्रो शिशु बनेका हुन्। २९ वर्षीया मेइजी र ३६ वर्षीय जोश फ्रेन्च दुवै शिक्षक हुन्। उनीहरूले भने, “उनी सानो चमत्कार हुन्, होइन त?”

यस्तो जन्मजात समस्या बेलायतमा प्रत्येक वर्ष ३,००० मध्ये एकमा देखा पर्छ। सन् २०२५ को विश्वव्यापी समीक्षामा उच्चदेखि मध्यम आय भएका देशहरूमा अध्ययन गरिएको थियो। उत्तम अवस्थामा, यस्तो समस्यामा शिशुलाई जोगाउन सघन उपचार र पोषकतत्त्व हप्तौँसम्म दिनुपर्दछ। १० मध्ये एक शिशुको मृत्यु हुने सम्भावना पनि हुन्छ।

थीओका आमाबुवालाई सुरुमा आफ्नो जन्मिन बाँकी सन्तानमा समस्या रहेको थाहा थिएन। जोशले भने, “हामीलाई त्यतिबेला थाहा थिएन।” गर्भावस्थाको २४ औँ हप्तामा चिकित्सकहरूले मेइजी र जोशलाई थीओको जन्मपछिका उपचारबारे जानकारी गराइरहेका थिए। अमेरिकाको टेक्सस बाल अस्पतालमा जन्मअघि नै जटिल ‘ग्यास्ट्रोस्किसिस’ को उपचार गर्ने विश्वकै पहिलो प्रकारको चिकित्सकीय परीक्षण सञ्चालन गरिएको थियो। शल्यक्रियापछि मेइजीले १४ हप्तासम्म शिशु गर्भमा हुर्काइरहिन। शल्यक्रिया सफल भयो र टेक्ससमै उनले योनिमार्गबाट फेब्रुअरीमा थीओलाई जन्म दिईन्।

डाक्टर बेल्फोर्टले भने, “आमा, बच्चा, शल्यक्रिया, सबै उल्लेखनीय रह्यो।” मेइजीले भनिन्, “थीओ उत्तम अवस्थामा छन्।” जोशले भने, “हामी दुवै आफूलाई अत्यन्तै भाग्यमानी ठान्छौं।”