Skip to main content

एमाले अध्यक्ष केपी शर्मा ओलीले किन हटाउन सकेनन् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पार्टीका नेताहरूले आफूलाई ‘राजीनामा दिन’ भने पनि उनले नेताहरूको आग्रह अस्वीकार गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। साउन ९ गते नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातमध्ये पाँच प्रदेश सरकारको नेतृत्वमा एकअर्कालाई सघाउने सहमति गरेका थिए। सहमति अनुसार कोशी प्रदेश एमालेको हिस्सामा परेको थियो। त्यही सहमति कार्यान्वयनका लागि नेतृत्वको सन्देश लिएर आफू कोशी प्रदेश पुगेको कोशीका पूर्वमुख्यमन्त्री तथा पार्टीको कोशी इन्चार्ज रहेका राईले बताए।

“केन्द्रीय अध्यक्षले प्रष्ट निर्देशन पनि गरिसक्नुभएको सन्दर्भमा त्यही तीनबुँदे सहमति र अध्यक्षको निर्देशन कार्यान्वयन गर्नका निम्ति हामी छलफल गरिरहेका छौँ,” उनले भने। एमालेका सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीले भने ‘पार्टीले आफूलाई राजीनामा दिन नभनेको’ तर नेताहरूले मात्र भनेको दाबी गरेका छन्। “प्रदेशको इन्चार्ज [राई] मेरै तहको साथी [सचिव नै] आएर राजीनामाको कुरा गर्नुभयो। मैले ‘तपाईंको कुरा पार्टीको निर्णय हुँदैन। पार्टीको संस्थागत तरिकाले अध्यक्षले लेखेर पठाएपछि मात्र हुने हो’ भनेँ,” कार्कीले भने। अहिले आफूले ‘राजीनामा दिनुपर्ने आवश्यक छैन’ भनेर राईलाई जवाफ दिएको कार्कीले बताएका छन्।

एमाले अध्यक्ष ओलीको निर्देशन लिएर कोशी पुगेको दाबी गरेका राईका अनुसार कोशी प्रदेशमा अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने वा नयाँ व्यक्तिलाई अवसर दिनेबारे उनले कार्कीसँग छलफल गरेको बताएका छन्। “अब उहाँको निरन्तरता र नयाँ साथीहरूलाई पालो दिने भन्ने कुरामा हामी अलिकति छलफल गरिरहेका छौँ,” उनले भने। “वर्तमान मुख्यमन्त्री लामो समय रहनुभएको छ। त्यसैले अब नयाँ साथीहरूलाई पनि अवसर दिने कि, पालो दिने कि। लामो अनुभव भएका साथीहरू पनि छन्। त्यसो गर्दा उत्तम हुन्छ कि भन्ने विकल्पमा काम भइरहेको छ।” कार्की दुई वर्षदेखि मुख्यमन्त्री रहँदै आएको कारण उनले अरू नेतालाई पालो दिनुपर्ने र उनलाई हटाउने पक्षका नेताहरूको तर्क छ। तर कार्कीले त्यसले अस्थिरता निम्त्याउने तर्क गरेका छन्।

प्रदेशसभाको मुख्यमन्त्रीको कार्यकाल एक वर्षजस्तो मात्रै बाँकी भएकाले सरकार परिवर्तन नहुने कार्कीको भनाइ छ। कार्कीले राजीनामाका लागि पार्टीबाट संस्थागत निर्णयको माग गरेका छन्। “संस्थागत तरिकाले कुरा भयो भने नमान्ने कुरा हुँदैन,” पार्टी अध्यक्षसँग छलफलका लागि काठमाडौं आउनुअघि कार्कीले मंगलबार बताएका छन्। तर पार्टी भित्रै आन्तरिक दबाब रहँदा पनि एमाले अध्यक्षले प्रदेश सरकार परिवर्तनबारे कुनै बैठक नबोकेको नेताहरूले जनाएका छन्। कोशी प्रदेश एमाले समितिका अध्यक्ष घनश्याम खतिवडाले पार्टी अध्यक्षले मुख्यमन्त्रीलाई छलफलका लागि काठमाडौं बोलाएको बताएका छन्। उक्त छलफलपछि निष्कर्षमा पुगेर प्रदेश सरकारलाई अघि बढाइने विश्वास पूर्व मुख्यमन्त्री राईले व्यक्त गरेका छन्।