लाल सागरमा भारतीय झण्डाबाहक जहाजमाथि आक्रमण, १३ भारतीय नागरिकको उद्धार

यमनको लाल सागर तटमा भारतीय झण्डा बोकेको एमएसी फैजे नूर–ए–औलिया जहाजमाथि हुथी विद्रोहीहरूले आत्मघाती डुंगामार्फत आक्रमण गरेका छन् जसका कारण जहाज डुबेको छ। उक्त जहाजमा सवार सम्पूर्ण १३ भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। २० साउन, काठमाडौं।
इरान समर्थित हुथी विद्रोहीहरूले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत त्यो जहाजमा आक्रमण गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। आक्रमणपछि जहाज डुबेको भएपनि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ।
साउदी अरबको राजधानी रियादस्थित भारतीय दूतावासले घटनालाई निरन्तर निगरानीमा राख्दै आएको छ। साथै, चालक दलका सदस्यहरूको सुरक्षाका लागि यमनका सम्बन्धित अधिकारीहरूसँग समन्वय भइरहेको पनि जनाइएको छ। आक्रमणमा परेको जहाजको नाम ‘एमएसभी फैजे नूर–ए–औलिया’ रहेको पुष्टि गरिएको छ।
यसअघि गत फागुनमा तेल बोकेर भारतको गुजराततर्फ आउँदै गरेको थाइल्याण्ड स्वामित्वको ‘मयूरी नारी’ नामक जहाजमाथि आक्रमण भएको थियो। त्यस्तै, गत असारमा ओमानको तट नजिक ‘जीएफएस ग्यालेक्सी’ नामको अर्को व्यावसायिक जहाजमाथि आक्रमण भएको थियो, जसमा रहेका ११ भारतीयमध्ये १० जनालाई उद्धार गरिएको थियो भने एकजना वेपत्ता भएका थिए।
हुथी धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले समुद्री मार्ग परिवर्तन गरेका छन्। यी ट्यांकरहरूले लाल सागर र बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने छोटो मार्ग छोडेर अफ्रिकाको दक्षिणी भाग हुँदै जाने लामो समुद्री मार्ग रोजेका छन्। जहाजमाथि भएको आक्रमण र समुद्री मार्ग परिवर्तनका घटनाले लाल सागर क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ। पछिल्ला घटनाले यो महत्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री मार्गमा बढ्दो सुरक्षा जोखिमलाई उजागर गरेकै छ।






