Skip to main content

अधिकांश मधेशकेन्द्रित दलहरूले नयाँ मोर्चा गठन गर्ने घोषणा

कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा अशान्ति फैलिएको र वर्तमान सरकारको सङ्घीयताप्रतिको निष्ठाबारे कतिपयले आशङ्का व्यक्त गरिरहेको पृष्ठभूमिमा अधिकांश मधेशकेन्द्रित पार्टीहरू सहित झन्डै आधा दर्जन दलहरूले नयाँ मोर्चाको गठन गर्ने बताएका छन्। यसै सप्ताहान्त (साउन २३ गते) ‘अग्रगामी मोर्चा’ नाममा उनीहरू गोलबन्द हुन लागेको बताइएको छ। वामपन्थी दलहरूले पनि मोर्चाबन्दीको चर्चा गरिरहेको बेला आएको यो घोषणाले राजनीतिक ध्रुवीकरणको सङ्केत गरेको जानकारहरूले बताएका छन्।

बन्न लागेको ‘अग्रगामी मोर्चा’को उद्देश्य के हो, केही दिनमा घोषणा हुने अग्रगामी मोर्चामा पूर्वमाओवादी नेता जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), डा सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, रिजवान अन्सारीले नेतृत्व गरेको नेपाल सङ्घीय समाजवादी पार्टी तथा हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी रहेका छन्।

“देशलाई अग्रगामी दिशामा अघि बढाउन तथा सङ्कटबाट निकास दिनका निम्ति हामीले मोर्चा निर्माण गर्न लागेका हौँ,” आम जनता पार्टीका नेता प्रभु साहले भने। जसपा नेपालका प्रमुख उपेन्द्र यादवले पनि देशलाई निकास दिनका निम्ति आफूहरू एकैठाउँ आउन लागेको बताए। प्रगतिशील लोकतान्त्रिक मोर्चाका प्रमुख जनार्दन शर्माले पनि आफूहरूको उद्देश्य “राष्ट्र र राष्ट्रियताका समस्याहरूको समाधान” रहेको बताएका छन्।

सङ्घीयताबारे ‘आशङ्का’ किन, वर्तमान सरकारको खासगरी सङ्घीयताप्रतिको प्रतिबद्धताबारे कतिपयले आशङ्का जनाउँदै गर्दा त्यस्तै भावना बोक्ने दलका नेताहरू अहिले नयाँ मोर्चामा लागेको देखिन्छ। रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा सरकार गठन भएको चार महिना नाघेको छ। यसबीच रास्वपा अधिवेशनमा प्रदेशसभाबारे उठेको विषय अनि हालै केही जिल्लामा देखिएको साम्प्रदायिक तनावले खास गरी मधेशकेन्द्रित दलहरू झस्किएको देखिन्छ।