Skip to main content

एन्फाको समस्या समाधानका लागि तदर्थ समिति गठन गर्न माग

एफएमटीका अध्यक्ष भिक्टर राणाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै समस्या समाधानका लागि तदर्थ समिति गठन गर्न माग गरेका छन्। फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा) को समस्याको समाधानका लागि तदर्थ समिति गठन गर्न फिफासँग माग गरेको छ। भिक्टर राणाले एन्फाको नेतृत्वको कार्यकाल सकिएको र कार्यसम्पादन कमजोर भएकोले जिल्ला देखि केन्द्रीय तहसम्म नयाँ निर्वाचन आवश्यक रहेको बताएका छन्। फिफाको निलम्बनका कारण नेपाल साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित हुनुपर्ने जोखिम बढेपछि संस्थाले विवाद समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव पनि गरेको छ।

२० साउन, काठमाडौं। फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को समस्याको समाधान गर्न तदर्थ समिति गठनको माग गरेको छ। हाल एन्फा फिफाको निलम्बनमा रहेको छ र वर्तमान एन्फा कार्यसमितिको कार्यकाल असार पहिलो साता सकिसकेको छ। नेपाली फुटबल अहिले संकटको अवस्थामा पुगेको र फिफा निलम्बनको प्रभाव नेपाली फुटबलमा देखिएको भन्दै एफएमटीले गम्भीर चिन्ता व्यक्त गरेको छ। एफएमटीका सिइओ मधुसूदन उपाध्यायका अनुसार, एन्फा निलम्बन विषयमा गम्भीर चिन्ता सहित विश्व फुटबल महासंघलाई पत्र पठाइएको छ।

एफएमटी नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी, रेफ्री, प्रशिक्षक र पदाधिकारीहरूलाई समेट्दै सन् २०१८ मा गठन गरिएको संस्था हो। एफएमटीका अध्यक्ष भिक्टर राणाले पत्रमा भनेका छन्, ‘एन्फाको निलम्बन विषयमा हामी गम्भीर रुपमा चिन्तित छौं। यो प्रतिबन्ध र यसका दीर्घकालीन परिणामहरूले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ र खेलाडी, प्रशिक्षक, रेफ्री तथा पदाधिकारीहरूलाई सबैलाई समान रूपमा प्रभावित गरेको छ। निलम्बनले नेपालमा फुटबल विकासलाई मात्र अवरुद्ध गरेको छैन, अक्षम एन्फा नेतृत्वलाई समर्थन गरेजस्तो देखिँदा फिफाको छवि पनि नकारात्मक बनेको छ।’

पत्रमा थप भनिएको छ, ‘वर्तमान एन्फा टोलीको कार्यकाल सकिएको छ। उनीहरूको कार्यसम्पादन निकै कमजोर छ र नेपालमा फुटबल सुधारका लागि उनीहरूले कुनै सार्थक कदम चालेका छैनन्। उनीहरू संस्थालाई अगाडि बढाउन असमर्थ देखिएका छन् र उनीहरूको नेतृत्व जारी रहनुले संकट झन गहिरो बनाउने सम्भावना छ।’ समस्याहरू समाधान गर्न जिल्ला तहदेखि राष्ट्रिय तहसम्म नयाँ निर्वाचन आवश्यक रहेको र त्यसका लागि तदर्थ समिति गठन हुनुपर्छ। फुटबलर्स मिसन टुगेदर मध्यस्थता गर्न तयार छ।

‘यस गतिरोधबाट निस्कने एकमात्र उपाय भनेको पहिलोमा जिल्ला तह र त्यसपछि राष्ट्रिय तहमा निर्वाचन गराएर नयाँ जनादेश प्राप्त गर्नु हो। लोकतान्त्रिक प्रक्रियाले नेपाली फुटबल प्रशासनमा विश्वसनीयता, जवाफदेहिता र विश्वास पुनःस्थापित गर्नेछ। त्यसैले यी निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित तदर्थ समिति गठन गरी गतिरोध अन्त्य गर्न हामी तपाईंको सहयोगको अपेक्षा गर्दछौँ। फुटबलर्स मिसन टुगेदर विवादित पक्षबीच मध्यस्थता गर्न र यदि तपाईंले चाहेमा निष्पक्ष तथा पारदर्शी निर्वाचन गराउन तदर्थ समितिको नेतृत्व गर्न तयार छ।’ एन्फाको विवाद बढेसँगै तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले २५ जुनमा एन्फालाई निलम्बन गरेको थियो। निलम्बनमा रहेकाले आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपमा नेपाल ड्रमा पनि समावेश थिएन। सेप्टेम्बर १ भित्र फिफाको निलम्बन फुकुवा भएमा मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउनेछ, नभए नेपाल दक्षिण एसियाको मुख्य प्रतियोगिता साफ च्याम्पियनसिपबाट वञ्चित हुनेछ।