
समाचार सारांश वर्षायामको प्रभावले एक महिनामा तरकारीको थोक मूल्य चार सय प्रतिशतसम्म वृद्धि भएपछि सर्वसाधारण उपभोक्ता प्रत्यक्ष पीडित भएका छन्। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार खेतमा उत्पादन घटेका कारण तरकारीको मूल्य असामान्य रूपमा बढेको हो। बजारमा नयाँ उत्पादन नआएसम्म तरकारीको मूल्य घट्ने सम्भावना छैन र मौसम प्रतिकूल भए मूल्य अझै बढ्नसक्ने चेतावनी दिइएको छ। २० साउन, काठमाडौं । मध्य-वर्षायाम चलिरहेको बेला उपभोक्ताको भान्सा अत्यन्तै महँगिएको छ। ज्याला र आम्दानी यथावत् रहे पनि दैनिक उपभोग्य तरकारीको मूल्य एक महिनामा ४०० प्रतिशतसम्मले आकाशिएको छ, जसले सर्वसाधारणलाई धेरै असर परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले असारको तुलनामा साउन महिनामा तरकारीको भाउमा असामान्य वृद्धि देखाएको छ। २० असार र २० साउनको औसत मूल्य तुलना गर्दा अधिकांश हरिया तरकारी, सागपात र खुर्सानीको मूल्यले सर्वसाधारणलाई ठूलो दबाब दिएको छ। बजारका व्यापारीहरू वर्षा र बाढीपहिरोलाई बहाना बनाइरहेका छन्। तरकारी जस्ता आवश्यक वस्तुमा यति धेरै बहानाबाजी गरी उपभोक्ता ठगिएर पनि सरकारले चुपचाप रहेका कारण उपभोक्ताले गुनासो गरेका छन्। उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन गरे पनि मुख्य समस्यामा काम नगरी झारा टार्ने मात्र गरेको व्यापारीहरूले बताएका छन्।
सिजनकै तरकारीहरू मध्ये, एक महिनाअघि २० असारमा प्रतिकिलो औसत ११ रुपैयाँमा पाइने हरियो फर्सी (डल्लो)को मूल्य २० साउनमा ५५ रुपैयाँ पुगेको छ, जुन पाँच गुणा मूल्यवृद्धि हो। खुद्रामा भने यो मूल्य ९० देखि १२० रुपैयाँसम्म पुगेको छ। त्यसैगरी हरियो खुर्सानी पनि किन्न गार्हो भएको छ। प्रतिकिलो २२ रुपैयाँ ५० पैसामा पाइने हरियो खुर्सानी (बुलेट) पाँच गुणा बढेर ९६ रुपैयाँ पुगेको छ। एक महिनामा यो मूल्यमा करिब ७४ रुपैयाँको वृद्धि भएको छ। लामो हरियो खुर्सानी ३० रुपैयाँबाट तीन गुणा बढेर ९६ रुपैयाँ पुगेको छ भने माछे खुर्सानी दुई गुणा बढेर ७५ रुपैयाँ पुगेको छ। यी सबै खुर्सानीहरू उपभोक्ताले १५० देखि १७० रुपैयाँसम्म तिर्न बाध्य छन्। सागपात खानै नसकिने अवस्था स्वास्थ्यका लागि लाभदायक मानिने हरियो सागपात आज विपन्न र मध्यम वर्गीय परिवारको पहुँचभन्दा बाहिर पुगेको छ। तथ्यांक अनुसार सबैभन्दा धेरै पालुंगो सागको मूल्य बढेको छ। असारमा ५५ रुपैयाँ किलो रहेको पालुंगो साउनमा झन्डै ४ दशमलव ५ गुणाले बढेर २ सय ३३ रुपैयाँ ३३ पैसा पुगेको छ। त्यस्तै, ३५ रुपैयाँ किलोको रायो साग चार गुणा बढेर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ भने ४५ रुपैयाँ किलोको तोरीको साग साढे दुई गुणाले बढेर १०० रुपैयाँ पुगेको छ। आलु प्रतिकिलो औसत ३५ देखि ४९ रुपैयाँ किलो हुँदा प्याज ५५ रुपैयाँ पुगेको छ। असारमा आलु २९ देखि ३९ रुपैयाँ र प्याज ५३ रुपैयाँमा किनबेच भएको थियो। यसैगरी, हरिया तरकारीको मूल्यले पनि उपभोक्तालाई निराश पारेको छ।
२० असारमा ३० रुपैयाँ ८३ पैसामा पाइने मकैबोडी अहिले झन्डै साढे तीन गुणाले बढेर ९५ रुपैयाँ पुगेको छ। लाम्चो भन्टा पनि १४ रुपैयाँ २५ पैसाबाट तीन गुणा बढेर ४५ रुपैयाँ पुगेको छ। ब्रोकाउली तीन गुणाले बढेको देखिन्छ। प्रतिकिलो ४३ रुपैयाँबाट बढेर ब्रोकाउली १२५ रुपैयाँ पुगेको छ। स्थानीय काउली ३८ बाट ८६, टाटे सिमी ४५ बाट ९५ र तनेबोडी २७ बाट ५५ रुपैयाँ पुगेको छ। उपभोक्ताले यि तरकारीहरू किन्न १ सयदेखि २ सय रुपैयाँ बढी तिर्न बाध्य छन्। थोक र खुद्राबीचको भाउ फरक थोक र खुद्रामा तरकारीको भाउ तुलना गर्नुहोस् भने भिन्नता निकै राम्रोसंग देखिन्छ। होलसेल र बजारमा मूल्य फरक ठूलो छ। थोकमा २०–२५ रुपैयाँ तोकिएको तर खुद्रा पसलमा प्रति किलो करिब १०० रुपैयाँसम्म पर्ने स्थिति छ। होलसेलमै मूल्य बढेपछि खुद्रा व्यापारीले मनपरी मूल्य तोक्नु र उपभोक्तालाई ठगी गर्नु सामान्य भइसकेको छ। शंखमुलकी सरस्वती पौडेलका अनुसार, ‘खुद्रा व्यापारीलाई भाउ किन बढेको भनेर सोध्न छुटै छैन, होलसेलमै महँगो परेको छ, सस्तो कसरी बेच्ने भन्ने परेको उनीहरूको रेडिमेड जवाफ छ। एक साताअघि २५–३० रुपैयाँमा किनेको भिन्डी अहिले १ सय ३० देखि १५० रुपैयाँ पुगेको छ, यस्तो अवस्थामा कसरी खान सकिन्छ?’ तरकारी औसत मूल्य
२० असार (रुपैयाँ) औसत मूल्य २० साउन (रुपैयाँ) वृद्धि (रुपैयाँ) हरियो फर्सी (डल्लो) ११ ५५ ४४ खुर्सानी हरियो बुलेट २२ ९६ ७४ भन्टा लाम्चो १४ ४५ ३१ मकै बोडी ३० ९५ ६५ ब्रोकाउली ४३ १२५ ८२ तने बोडी २७ ५५ २८ भिन्डी २५ ४७ २२ करेला २६ ४५ १९ घिरौँला २४ ३५ ११ लौका २७ ४५ १८ खुद्रा व्यापारीहरूले आफ्नै तर्क राख्दैछन्। शंखमुलका एक तरकारी व्यापारीको भनाइ छ कि उपभोक्ताले व्यापारीका कष्ट नबुझी मात्र दोष लगाउने गरेको छ। उनले भने, ‘हामी कालीमाटी, कोटेश्वर लगायत बजारको मूल्य अनुसार बेच्ने हो, मैले खरिद मूल्यमा थोरै नाफामात्र राखेर बेचिरहेको छु। धेरै महँगो भएपछि उपभोक्ताले किन्तैनन् भने तरकारी कुहिएर फाल्नुपर्छ। तरकारी बेच्न घाटा हुने काम हो।’ उनले तरकारीको मूल्य बढेसँगै उचित मूल्यमा धेरै किनेर बेच्न नसकिने अवस्था रहेको पनि दाबी गरे। तरकारीको मूल्य धेरै बढेको छैन थोक व्यापारीहरूले भने आफूमध्ये धेरै तरकारीको मूल्य बढेको छैन भनी दाबी गरिरहेका छन्। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले बजारमा तरकारी आपूर्ति सहज र मूल्य स्थिर रहेको बताएका छन्। अध्यक्ष खतिवडाले भने, ‘तरकारी निरन्तर आइरहेको छ, अभाव छैन, बजार पनि ठिकठाक छ, धेरै महँगो भएको छैन। अहिलेको अवस्था सामान्य हो, तरकारी अभाव भएको झैं देखिएको छैन।’ वर्षायाममा बाटो बिग्रने र पहिरो जानुले आपूर्तिमा समस्या भएको भनाइलाई पनि अध्यक्ष खतिवडाले अस्वीकार गरे। ‘पानीले बाटो अवरुद्ध भएर तरकारी अड्किएको सुनेका छैनौं, बजार स्थिर छ,’ उनले भने। ढुवानी भाडा र नाफाको बहानामा खुद्रा व्यापारीहरूले मनपरी मूल्य लिएर उपभोक्ताको ढाड सेकिरहेको हुन सक्ने अध्यक्ष खतिवडाले बताए। नयाँ उत्पादन नआएसम्म मूल्य घट्दैन किसानका खेतमा तरकारी उत्पादन घटेको कारण बजारमा आपूर्ति कम हुँदा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा सामान आइरहेको छ, दैनिक ६ सयदेखि ७ सय टन तरकारी भित्रिरहेको छ। तर, वर्षायाममा मूल्य अलिकति बढ्ने प्रवृत्ति हुन्छ। अहिले खेतमा उत्पादन नै घटेको अवस्था छ।’ श्रेष्ठले भने, ‘सबै तरकारीको मूल्य बढेको छैन। केही हरियो तरकारी मूल्य बढे पनि कतिपय तरकारी अझै सस्तो छ। होलसेलमा गोलभेँडा र मुलाजस्ता तरकारीको मूल्य कम छ भने आलु र प्याजको मूल्य स्थिर छ। सिमी, बोडी, लौका, घिरौँला जस्ता तरकारी अलि माथि गएका हुन्।’ मूल्य अझै बढ्ने सम्भावना बजारमा नयाँ उत्पादन नआएसम्म तरकारीको मूल्य घट्ने सम्भावना नरहेको र मौसम थप प्रतिकूल भएमा मूल्य अझै बढ्नसक्ने समितिले जनाएको छ। सूचना अधिकारी श्रेष्ठले भने, ‘नयाँ उत्पादन नआएसम्म मूल्य घट्ने होइन, मौसम प्रतिकूल भएमा यो अझै बढ्न सक्छ।’ सरकारी तथ्यांकले तरकारीको भाउ असामान्य रूपमा बढेको देखाए तापनि थोक व्यापारीहरूले ‘मूल्य सामान्य छ’ भन्दै आवश्यकताभन्दा फरक अभिव्यक्ति दिएका छन्। यसको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी गर्ने मध्यम वर्गीय र सीमित आम्दानी भएका सर्वसाधारण उपभोक्ता परेका छन्। सम्बन्धित निकायले प्रभावकारी बजार अनुगमन नगरे बिचौलिया र खुद्रा व्यापारीको प्रभावमा किसानले उपयुक्त मूल्य नपाउने र उपभोक्ताको भान्सा अझ महँगिने खतरा रहेको छ।






