Skip to main content

इरान युद्ध: ‘पिकएक्स माउन्टेन’ के हो र ट्रम्प यो क्षेत्रमा किन बम प्रहार गरी नष्ट गर्न चाहन्छन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शङ्कास्पद भूमिगत परमाणु क्षेत्र ‘पिकएक्स माउन्टेन’ मा बम प्रहार गर्ने चेतावनी बारम्बार दिएका छन्। हालै भूउपग्रहबाट खिचिएका तस्बिरहरूले उक्त स्थानमा निर्माण कार्य भइरहेको देखाएका छन्। ‘पिकएक्स माउन्टेन’ इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित र अमेरिकी निशानामा नपरेका केही थोरै स्थानमध्येको एक हो। त्यहाँ इरानले संवर्धित युरेनियम राखेको अपुष्ट दाबीहरू सार्वजनिक भएका छन्, जुन युरेनियमलाई थप प्रशोधन गरी परमाणु अस्त्र बनाउन सकिन्छ।

२१ जुलाईमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी चाँडै नै त्यो क्षेत्रमा आक्रमण गर्ने छौं र त्यो निकै शक्तिशाली हुनेछ।” एक हप्ता पछि २८ जुलाईमा उनले फेरि भने, “पिकएक्स माउन्टेनमा ठ्याक्कै के भइरहेको छ मलाई थाहा छ। त्यो ठूलो समस्या होइन। हामीले उनीहरूको परमाणु केन्द्रहरू समाप्त पारिसकेका छौं, यदि सम्झौता भएन भने पिकएक्सलाई पनि ध्वस्त पार्नुपर्ने हुन्छ।” इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले २२ जुलाईमा पिकएक्स माउन्टेनमा कुनै पनि परमाणु गतिविधि नभएको बताएका थिए र अमेरिकी चेतावनीलाई “आक्रमण, विनाश र तोडफोडका लागि बनाइएको बहाना” भनेका छन्।

पिकएक्स माउन्टेनलाई ‘कुह–ए–कोलाङ’ पनि भनिन्छ। यो स्थल इरानको सबैभन्दा ठूलो परमाणु प्रशोधन केन्द्र ‘नतान्ज’ को ठीक दक्षिणमा अवस्थित छ। यहाँको पहाडभित्र गहिरो संरचना निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको छ। यसको वास्तविक उद्देश्यबारे धेरै कुरा सार्वजनिक भएका छैनन्, जसकारण परमाणु केन्द्रसम्बन्धी विषयहरू रहस्यमा सीमित छन्। इरानको आणविक ऊर्जा संगठनका पूर्व प्रमुख अली अकबर सालेहीले सन् २०२० मा “नतान्ज नजिकै” पहाडभित्र थप “आधुनिक, ठुलो र व्यापक सुविधा सहितको पूर्वाधार” बनाइरहेको बताएका थिए, तर उसबेला पिकएक्स माउन्टेनको नाम उल्लेख गरेका थिएनन्।

पिकएक्स माउन्टेन क्षेत्रलाई हवाई आक्रमणबाट सुरक्षित बनाउन डिजाइन गरिएको हुनसक्छ। केही विशेषज्ञहरूका अनुसार यसको मुख्य भाग जमिनमुनि करीब १०० मिटर गहिरो छ, जुन इरानका अन्य दुई परमाणु स्थल फोर्दो र नतान्ज भन्दा धेरै गहिरो छ। अमेरिकी इन्स्टिट्यूट फर साइन्स एन्ड इन्टरन्याशनल सेक्युरिटी (आईएसआईएस) का विश्लेषण अनुसार इरानले पूर्वतर्फका दुई सुरुङ प्रवेशद्वार बन्द गरिसकेको छ।

तर विज्ञहरू भन्छन्, यस्ता बम प्रयोग गरिए पनि पिकएक्स माउन्टेनलाई पूर्ण रूपमा ध्वस्त पार्न कठिन हुनेछ। साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ता अरमान महमुदियानले भने, “यसको गहिरो भित्री संरचना अस्पष्ट भएको कारण भूमिगत सम्पूर्ण संरचना पूर्ण रूपमा नष्ट गर्नु अत्यन्तै कठिन छ।” तर उनले भने, अमेरिकी आक्रमणले सुरुङ प्रवेशद्वार, सञ्चार प्रणाली, पहुँच मार्ग र अन्य सहायक पूर्वाधारलाई निशाना बनाई सञ्चालन रोक्न सक्छ। यद्यपि जमिनमुनि धेरै गहिरो भागहरू बच्ने सम्भावना उच्च छ।