
फ्रान्सको पेरिसमा आयोजना भइरहेको इस्पोर्ट्स विश्वकप अन्तरगत पब्जी मोबाइल विश्वकप आजबाट शुरू भएको छ। विश्वका ३२ उत्कृष्ट टोलीले प्रतिस्पर्धा गरिरहेका यस प्रतियोगितामा नेपालको होरा इस्पोर्ट्स समूह बी बाट सहभागिता जनाउने तयारीमा छ। कुल ३० लाख ५० हजार अमेरिकी डलर पुरस्कार राशीको प्रतियोगितामा विजेताले ४ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।
पब्जी विश्वकप अगष्ट ६ देखि १६ सम्म सञ्चालन हुने छ। नेपालबाट होरा इस्पोर्ट्सले पब्जी मोबाइल विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। टोलीका खेलाडीहरुमा सुरज लामा (नो फियर), आकाश सोताङ राई (स्काइ होरा), शितल राई (स्लीपी), युगेन लामा (माफिया), प्रवेश गुरुङ (हैतदामी) र सुप्रिम अधिकारी (जिगल) रहेका छन्। होरा इस्पोर्ट्सका मालिक सन्जन गौतम (सीआर सेभेन होरा) पनि टोलीसंगै पेरिस पुगेका छन्।
प्रवेश गुरुङले होरा इस्पोर्ट्स मात्र नभएर सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको जानकारी दिए। गत जेठमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (PMGओ) मा होरा १२ औं स्थानमा रहँदा फ्रान्समा हुने इस्पोर्ट्स विश्वकपका लागि छनोट भएको थियो। यसपटक पब्जी मोबाइल विश्वकपमा ३२ टोली दुई समूहमा विभाजित गरिएका छन्, प्रत्येक समूहमा १६-१६ टोली रहेका छन्। होरा इस्पोर्ट्स समूह बी मा रहेको छ र उनीहरूले अगष्ट ७ शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ गर्नेछन्।
समूह चरणमा प्रत्येक टोलीले १२ म्याच खेल्नेछ। प्रत्येक समूहका शीर्ष ५ टोलीहरू ग्रान्ड फाइनलमा सिधै प्रवेश गर्नेछन् भने छैटौँदेखि १३औं स्थानमा रहने टोलीहरू सर्भाइवल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल चरणको खेलहरू अगष्ट १४ देखि १६ सम्म हुनेछ। पब्जी मोबाइल विश्वकपको कुल पुरस्कार राशि ३० लाख ५० हजार अमेरिकी डलर रहेको छ जसमा विजेताले ४ लाख अमेरिकी डलर पुरस्कार पाउनेछन्।






