
विगत ३० वर्षदेखि सगरमाथाको चुचुरा नजिकै कठोर हिमाली परिस्थितिमा मृत्यु भएका एक पर्वतारोहीको शव हिउँमा अलपत्र परेको छ। उनी लगाएको हरियो जुत्ताको रङ्गका कारण पर्वतारोहण समुदायमा ‘ग्रीन बूट्स’ भनेर चिनिन्छन्। भारत-प्रशासित कश्मीरस्थित लद्दाखका दोर्जे मोरुप सन् १९९६ को मे महिनामा भारतीय टोलीसँगै तिब्बती मोहडाबाट सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए।
उनी शिखरमा पुगिसकेपछि फर्किने क्रममा अचानक आएको हिमआँधीमा परी आफ्ना दुई साथीहरू सहित फसेका थिए। उनका शव फेला परेका भए पनि अन्य दुई जनाको हालसम्म कुनै जानकारी छैन। सूत्रका अनुसार ‘ग्रीन बूट्स’ अहिले सगरमाथा चढ्न आउनेहरूलाई मार्ग प्रदर्शन गर्ने संकेतचिह्न जस्तै भइसकेको छ। भारत सरकारले उनको शव त्यहाँबाट निकालेर परिवारलाई फिर्ता दिन उद्धारकर्ता खोज्न थालेको छ।






