Skip to main content

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को कूटनीति: भारत र चीनसँग सहकार्य गर्ने रणनीति

पहिलेका प्रधानमन्त्रीहरूले पनि राजदूतसँग भेट्ने चलन थियो तर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार भारत र चीनका राजदूतसँग गरेको एकल भेटवार्ता विशेष चर्चा बटुलेको छ। बालेनले चार महिना प्रधानमन्त्री पद सम्हालेपछि दुई छिमेकी देशका राजदूतसँग एक्लै भेट गर्ने अवसर पाएका हुन्। पूर्वराजदूत दिनेश भट्टराईका अनुसार प्रधानमन्त्रीले उचित कदम चालेका छन् जुन पहिल्यै हुनु पर्ने थियो तर अलिकति ढिलो भयो। “छिमेकीहरूसँगको सम्वन्ध कतै कमजोर त छैन भनेर महसुस गरेर आज यस्ता भेटवार्ता विस्तार गरिरहेका छन्,” भट्टराईले बताए। उनी सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार थिए।

पहिला प्रधानमन्त्री र उच्च नेताहरूले विदेशी कूटनीतिज्ञसँग कूटनीतिक मर्यादाको कमीका कारण आलोचना खेप्ने गरेका थिए। प्रधानमन्त्री बालेनले पद ग्रहणपछि नेपालमा रहेका सबै विदेशी राजदूतसँग संयुक्त भेटवार्ता मात्र गरेका थिए। यसकारण राजदूतले सिधै प्रधानमन्त्रीलाई भेट्न पाउने परम्परा तोडेका कारण यसको सकारात्मक अर्थ लगाइएको थियो। “तर यो बुझाइ पूर्ण होइन, प्रोटोकल मै व्यवस्थित तर सन्देश सन्तुलित र संयमित तरिकाले दिन सकिन्छ,” भट्टराई भन्छन्, “छिमेकीलाई प्राथमिकता दिएर यसरी सुमधुर भेटवार्ता हुनुपर्छ।”

प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार भेटवार्तामा “नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा” छलफल भएको छ। प्रधानमन्त्री शाहले “भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने” बताएका छन्। “भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो,” सचिवालयले जनाएको छ।

भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेनसँगको भेटपश्चात दुई फोटो राखेर ट्विट गरेका छन्। उनले अंग्रेजीमा लेखेका छन्, “आज बिहान नेपालका सम्माननीय प्रधानमन्त्रीसँग भेट पाउँदा गौरवान्वित महसुस गरें। भारत र नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारी विषयमा गहिरो र फलदायी विचार-विमर्श भयो।” उनले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट पनि प्रधानमन्त्री बालेनलाई “न्यानो शुभकामना” दिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बालेनको सचिवालयले चिनियाँ राजदूतसँगको भेटवार्ता बारे पनि जानकारी दिएको छ। भेटमा नेपाल-चीन सम्बन्धलाई “अझ सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन र विकास साझेदारी अभिवृद्धि गर्ने विषयमा” छलफल भएको छ। “प्रधानमन्त्रीले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बनाउँदै साझा हितमा मिलेर काम गर्न जोड दिनुभयो,” सचिवालयले जनाएको छ। राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना दिएर दुई देशबीचको सहकार्य र आपसी सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजदूतहरूले सरकारका मन्त्रीहरूसँग भने भेटघाट गरिरहेका छन् तर यसले महत्त्वपूर्ण छिमेकी देशहरूसँग कूटनीतिक सम्पर्क र सम्बन्ध पूर्ण रूपले परिचालन गर्न नसकेको कूटनीतिज्ञ भट्टराई बताउँछन्। उनका अनुसार छिमेकी र मित्रराष्ट्रहरू सरकार प्रमुख वा उच्च तहबाटै सन्देश सुन्न र आश्वस्त हुन चाहन्छन्। “प्रधानमन्त्रीले गरेका भेटघाटहरू राम्रो भएका छन्,” भट्टराई भन्छन्, “यो कार्य अगाडि बढेको भए अझ फाईदाजनक हुनेथियो भन्ने हाम्रो विचार हो।”

यो भन्दा पहिले प्रधानमन्त्री बालेनले “प्रोटोकल” विषय उठाउँदा भेटवार्ता समय नदिएपछि भारतीय विदेशसचिवले नेपाल भ्रमण रद्द गरेको खबरहरू आएका थिए। राजदूतहरूसँगको भेटवार्ताले देखाएको छ कि प्रधानमन्त्री बालेनले शुरुमा कडा नीति लिएका थिए भने अहिले केही लचिलो भई अनुभव अनुसार नीति परिमार्जन गरेको देखिन्छ। साथै उनले छिमेकी भ्रमणका ढोकाहरू खुला रहेको संदेश पनि दिए भन्ने बुझाइ पनि पाइन्छ। पूर्वराजदूत दिनेश भट्टराई पनि यसलाई बालेनको नीति परिवर्तनको संकेत मान्छन्। “राजदूतहरूले प्रधानमन्त्रीलाई उनीहरूको सरकारले दिन चाहेको सन्देश के हो त्यो थाहा नहुन सक्छ,” उनले भने, “तर यो भेटवार्ताले वातावरणलाई सजिलो बनाएर भ्रमणको बाटो बनाउन सहयोग पुर्‍याउन सक्छ।”