
२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै यस्तो बताएका हुन्। ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएको छ । म एक्लै छु,’ उनले भनेका छन्, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु- कृषि र प्रविधिमा आधारित एकीकृत शिक्षाको व्यवस्था गरी दीक्षित विद्यार्थीलाई क्षमता र रुचिका आधारमा रोजगारीको कार्ययोजना बनाउनुस्, तपाईं एक्लै हुनुहुन्न ।’
चौलागाईंले अर्को कामको रूपमा पनौती १० का युवा महेश उदासको उदाहरण दिएका छन्, जसले रोजगारीको खोजीमा ग्रीस जानु परेको थियो। उनले भने, ‘सरकार गठन भएको १०० दिनको गणना हुँदै थियो, ८० औं दिनमा बाकसमा फर्कनु भयो। रोजगारीको खोजीमा आमाबुबाको काख र परिवारको साथ छोड्नुपर्ने र यस्तो नियति भोग्नुपर्ने बाध्यताको अन्त्य गर्न स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगको स्थापना गरी ग्रामीण युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारी पाउने योजना बनाउनुस्, तपाईं एक्लै हुनुहुन्न ।’
सांसद चौलागाईंले कृषकको समस्याबारे पनि बोले। उनले कृषि प्रधान देशका कृषकहरुले मलखादको अभाव झेल्नुपर्ने र जंगली जनावरबाट हुने कृषिको क्षति बेहोर्नुपर्ने अवस्था रहेको स्मरण गराए। उनले प्रधानमन्त्रीलाई भने, ‘क्षति रोक्ने र क्षतिको उचित क्षतिपूर्ति दिने तथा जंगली जनावरलाई जंगली जनावरमा आधारित खुला जंगल खेती फरेस्ट फार्मिङ गराई नियन्त्रण र बजार बजारीकरणको योजना बनाउनुहोस्, तपाईं एक्लै हुनुहुन्न ।’
चौथो काममा उनले विदेशमा अलपत्र नेपालीको उद्धारको विषय उठाए। उनले भने, ‘बाध्यताले रोजगारीको खोजीमा देश छोडेका नेपाली माथि विदेशी भूमिमा संकट पर्दा र अलपत्र हुँदा तत्काल उद्धार गरी राज्य छ भन्ने अनुभूति दिलाउने योजना बनाउनुस्, तपाईं एक्लै हुनुहुन्न ।’ उनले विद्युत विस्तार, पूर्वाधार विकास, भ्रष्टाचार नियन्त्रण, पर्यटकीय क्षेत्रको विकास र अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्नका लागि खेलाडीहरुलाई सम्मान गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।






