
भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले चारित्रिक आचरण सम्बन्धी विवादपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। एक महिलाले उनीविरुद्ध वैवाहिक अवस्था लुकाएको र व्यक्तिगत सम्बन्धमा स्वार्थको द्वन्द्व भएको उजुरी दिएकी थिइन्। गृहमन्त्री छिरिङले नैतिक आधारमा पद छोडेर सुशासन र संस्थागत मर्यादा कायम राख्न आफू राजीनामा दिन बाध्य भएको बताएका छन्।
२६ साउन, काठमाडौं। चारित्रिक विवादका कारण गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्ने भएकाले नैतिक आधारमा पद त्याग गरेको जनाएका छन्। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे गलत जानकारी दिइएको र व्यक्तिगत सम्बन्धमा व्यवसायिक सुविधा र स्वार्थको द्वन्द्व भएको आरोप लगाएकी थिइन्। उजुरीसँगै निजी म्यासेज र तस्बिरहरू सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका थिए।
भुटानी प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै, गृहमन्त्री छिरिङले व्यक्तिगत विषयलाई लिएर उच्च नैतिक आधारमा स्वेच्छाले राजीनामा दिएको जनाएको छ। सुशासन, जनविश्वास र संस्थागत मर्यादाका उच्च मापदण्ड कायम गर्न आफू पदबाट अलग भएको उनले बताएका छन्। गृहमन्त्रीको राजीनामापछि सार्वजनिक पदमा रहेका व्यक्तिको व्यक्तिगत आचरण, सामाजिक सञ्जालमा फैलिएका आरोप र यस्ता विवादले राज्यको प्रतिष्ठामा पर्ने प्रभावलाई लिएर भुटानमा बहस सुरु भएको छ।






