
काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु भएको छ। एक्स्पोमा ५३ ब्रान्ड र ५१ स्टलहरू छन् भने ४० भन्दा बढी नयाँ सवारीसाधनका मोडलहरू सार्वजनिक भएका छन्। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रतिस्पर्धाको सङ्केत गरेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारीसाधन, मोबिलिटी प्रविधि तथा सेवा प्रदर्शनीमा राखिएको छ। गत वर्षको पहिलो संस्करणभन्दा बढी सहभागीता भएको यो एक्स्पोले नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तनलाई पनि प्रतिबिम्बित गरेको छ। विशेष गरी चारपांग्रे सवारीमा विद्युतीय सवारीसाधनको वृद्दिले यस एक्स्पोलाई ‘ईभी केन्द्रित’ बनाएको छ।
कम मूल्यका साना ईभीदेखि प्रिमियम एसयूभीसम्मका नयाँ मोडल नेपाली बजारमा प्रस्तुत हुँदैछन्। प्रोटोन ई.मास ५, आर्कफक्स टी–१ र विलिङ मिनी ईभी फोर–डोरजस्ता मोडलहरूले विशेष ध्यान खिचेका छन्। प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार तोकिएको छ भने पहिलो १०० ग्राहकहरूका लागि विशेष छुटको रूपमा २९ लाख ९९ हजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नाइमा एक्स्पोमा बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, एनआईयू, अल्ट्राभायोलेट, सीएफमोटो, ट्रायम्फ लगायतका ब्रान्ड सहभागी छन्। यसले दुईपांग्रे बजारमा पनि ‘पेट्रोल वा इलेक्ट्रिक?’ भन्ने प्रतिस्पर्धा तीव्र बनेको देखाउँछ। उपभोक्ताका लागि विकल्पहरू पनि वृद्धि भएका छन्।






