राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको प्रभावकारी अनुगमनका लागि विशेष संयन्त्र स्थापना

जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा आर्थिक प्रगतिमा निगरानी गर्न आधुनिक र प्रभावकारी विशेष संयन्त्र स्थापना गरेको छ। यस संयन्त्रले आयोजनाहरू समयमै सम्पन्न गर्न असहजता र समस्याहरू पहिचान गरी ती समस्या समाधानका लागि स्पष्ट समयसीमा निर्धारण गर्नेछ। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आयोजना प्रगति समीक्षा र आगामी कार्ययोजना समेटेर सबै आयोजना प्रमुखहरूको बैठक बोलाएका छन्।
२७ साउन, काठमाडौं। राष्ट्रिय गौरवका आयोजना लगायत विभाग अन्तर्गत क्रियाशील अन्य आयोजनालाई प्रभावकारी ढंगले अनुगमन गर्न जलस्रोत तथा सिँचाइ विभागले नयाँ विशेष संयन्त्रको स्थापना गरेको छ। यसका पृष्ठभूमिमा लामो समयदेखि सञ्चालनमा रहेका आयोजनाहरूले अपेक्षित प्रगति गर्न नसकेको, निर्धारित समयसीमा नाघिसकेको तथा निर्माण कार्यमा देखिएका समस्याहरूको यथोचित समाधान नहुँदा खराब स्थिति उत्पन्न भएको पाइएपछि यो व्यवस्था गरिएको हो।
संयन्त्रले आयोजना स्थलमा भएमा प्रगतिको समीक्षासहित भौतिक अवस्था, आर्थिक खर्च, निर्माण तालिका, प्रमुख चुनौतीहरू र समाधानका उपायहरूमा नियमित अनुगमन र समन्वय गर्दै जान्छ। विभागले समस्या पहिचान गर्ने, जिम्मेवार निकायहरू तोकी समाधानका लागि निश्चित समयसीमा दिनेजस्ता पहलहरूको समायोजन गरी फलोअप गर्न पनि नयाँ प्रणाली विकास गरेको छ।
प्रारम्भिक चरणमा महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना र सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्राथमिकतामा राखिएका छन्। यी आयोजनाहरूको प्रगति विवरण संकलन मात्र नभई समस्या पहिचान, तत्काल प्रभावकारी कदम चाल्न जिम्मेवारी निर्धारण र नतिजामुखी निरन्तर फलोअप प्रणाली सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।






