Skip to main content

नेपालमा नयाँ सरकार : ४३औँ प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ, नयाँ मन्त्रीहरूको नामावली

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह गत महिना भएको संसदीय निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन्।

सो व्यवस्थाअनुसार राष्ट्रपतिको प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरी उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन्छ। प्रधानमन्त्रीको शपथग्रहण पश्चात राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथग्रहण समारोहको आरम्भमा शङ्खनाद गरिएको थियो भने १०८ बटुकहरूले स्वस्तिवाचन र १०८ बौद्ध लामाहरूले मङ्गलपाठ गरेका थिए। उक्त समारोहमा उपराष्ट्रपति, अन्तरिम प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष लगायत वरिष्ठ पदाधिकारीहरू तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए।

छत्तीस वर्षीय शाह नेपालको प्रजातान्त्रिक इतिहासमा निर्वाचित कार्यकारी प्रमुख हुने सबैभन्दा कान्छा व्यक्ति हुन्। प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सबैभन्दा ठूलो दल हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र्याप गायकका रूपमा परिचित थिए। पेसाले उनी स्ट्रक्चरल इन्जिनियर हुन्। झापा-५ निर्वाचन क्षेत्रबाट चुनाव जितेका उनी निर्वाचनको केही साताअघिनै रास्वपामा प्रवेश गरेका थिए।

मन्त्रिपरिषद् गठनमा प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैंसहित राखेका छन्। अन्य मन्त्रीहरूमा अर्थ मन्त्री: स्वर्णीम बाग्ले, गृहमन्त्री: सुधन गुरुङ, परराष्ट्र मन्त्री: शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री: सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री: विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री: खड्कराज पौडेल, शिक्षा, विज्ञान, प्रविधि, युवा तथा खेलकुद मन्त्री: सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री: निशा मेहता, सञ्चार तथा सूचना प्रविधि मन्त्री: विक्रम तिमिल्सिना, सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री: प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री: सोबिता गौतम, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री: गीता चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री: दीपककुमार साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री: सीता वादी रहेका छन्।