चीनको म्याग्लेभ ट्रेनले ५.३ सेकेन्डमै ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्दै विश्व कीर्तिमान तोड्यो

चीनको प्रयोगात्मक म्याग्लेभ ट्रेनले ५.३ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरी आफ्नै विश्व कीर्तिमान तोडेको छ। चुम्बकीय शक्तिको प्रयोग गरेर घर्षणविना गुड्ने यो ट्रेनले परीक्षणका क्रममा २०० मिटरको दूरीमा सुरक्षित रूपमा ब्रेक लगाउन सफल भएको छ। यस प्रविधिले भविष्यमा रकेट लन्च प्रणाली र अति-उच्च गतिको यातायात पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन्। २८ साउन, काठमाडौं।
चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि नयाँ बाटो खोल्ने सम्भावना देखाएको छ। हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको गति लिएको हो।
म्याग्लेभ ट्रेनहरूले ट्रेनलाई ट्र्याकबाट थोरै माथि उठाउन चुम्बकीय शक्तिको प्रयोग गर्छन्, जसले गर्दा घर्षण पूर्ण रूपमा हट्छ। त्यस्तै ट्र्याक वरिपरि रहेका कोइलहरूले उत्पादन गरेको चुम्बकीय तरङ्गले गाडीलाई अगाडि धकेल्ने काम गर्छ। चिनियाँ अनुसन्धानकर्ताहरूले यो ट्रेनले चरम गतिमा पुग्न मात्र होइन, यसको ब्रेकिङ प्रणालीमार्फत नियन्त्रित रूपमा रोकिन पनि सक्षम रहेको देखाएका छन्। ० बाट ८०० किलोमिटर प्रतिघण्टाको गतिमा पुगेपछि, करिब २०० मिटरको दूरी पार गर्दै यो ट्रेन बिस्तारै र सहज रूपमा रोकिएको थियो।






