अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिद्वारा दौड प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित दौड प्रतियोगितामा खुला वर्गमा गणेश सिंह र महिलातर्फ जेनिशा राई प्रथम भएका छन्। २८ साउन, काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले आयोजना गरेको उक्त दौडको सुरुवात माइतीघरबाट भई तिनकुनेमा समाप्त भएको थियो। खुला वर्गमा रुपेश कार्की दोस्रो र सञ्जीव नेपाली तेस्रो स्थानमा ल्याएका छन्। महिलातर्फ पूर्णिमा आचार्य दोस्रो र शारदा राई तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान धराउनु भएकालाई क्रमशः १० हजार, ५ हजार र २५०० रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। ८ वर्षकी एक सहभागी धाविकालाई २ हजार रुपैयाँ सान्त्वना पुरस्कार पनि दिइएको आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद्ले प्राविधिक सहयोग गरेको यस दौडमा ३०० भन्दा बढी युवा सहभागी थिए, जसको जानकारी नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले दिएका छन्। सुनारका अनुसार, यस प्रतियोगिताले युवाहरूमा स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।






