
फिफा काउन्सिलको बैठकले २५ जूनमा अजरबैजानमा अक्टोबर २२ देखि ३२ सम्म आयोजना गर्ने निर्णय गरेको थियो। नेपाल यू-१५ फुटबल टोली अजरबैजानमा हुने फिफा यू-१५ विश्वकप र उत्सवमा सहभागी हुने जनाइएको छ। एन्फा निलम्बित भए तापनि, यो प्रतियोगिता युवा उत्सव भएकाले नेपालले खेल्न पाउने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। प्रतियोगिताका लागि जिल्ला, प्रदेश र राष्ट्रिय तहमा खेलाडी छनोट प्रक्रिया अगष्ट १६ बाट सुरु हुने बताइएको छ।
काठमाडौं। नेपालको उमेर समूह फुटबल टोलीले अजरबैजानमा आयोजना हुने फिफा यू-१५ विश्वकप र उत्सवमा भाग लिन तयारी थालेको छ। फिफाको काउन्सिलले २५ जूनमा अजरबैजानमा अक्टोबर २२ देखि ३२ सम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो। फिफाले २११ सदस्य राष्ट्रलाई निमन्त्रणा गरेका छन् र सबैलाई सहभागी हुन पाइने व्यवस्था अनुसार नेपालले पनि भाग लिनेछ। निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले यो जानकारी दिएका छन्।
हालै एन्फा फिफाको निलम्बनमा रहेको छ। तर यो प्रतियोगिता मुख्य प्रतिस्पर्धा भन्दा भिन्न र युवा उत्सव भएकोले नेपालले खेल्न पाउने शाहले बताए। ‘निलम्बनअघि नै हाम्रो नाम यू-१५ विश्वकप र उत्सवका लागि दर्ता भइसकेको थियो। यसमा विश्वभरका सबै फिफा सदस्य राष्ट्र सहभागी हुन पाउनेछन्। छनोट प्रतियोगितासमेत हुनेछ। त्यसैले नेपाललाई पनि खेल्न अनुमति दिइएको हो,’ उनले भने।
फिफाले पहिलो पल्ट युवा प्रतिभाका लागि यू-१५ विश्वकप र उत्सव आयोजना गर्न लागिरहेको हो। प्रतियोगिता घोषणा गरेकोै दिनमै फिफाले एन्फालाई निलम्बन गरेको थियो। शाहले यू-१५ विश्वकप र उत्सवका लागि जिल्ला, प्रदेश र राष्ट्रिय तहसम्म छनोट गरेर टोली छानिने बताए। नेपालमा जिल्ला छनोट १६ देखि २५ अगस्त, प्रदेश छनोट २८ देखि ३१ अगस्त र राष्ट्रिय छनोट ३ देखि ६ सेप्टेम्बरसम्म हुनेछ। सेप्टेम्बर १० मा प्रारम्भिक सूची पठाउनुपर्नेछ भने अक्टोबर ७ मा अन्तिम सूची बुझाउनुपर्नेछ। यस विषयमा आज भर्चुअल बैठक भएको र अब एन्फाले खेलाडी छनोट प्रक्रिया सुरु गर्ने प्रवक्ता शाहले जानकारी दिए। हाल एन्फा फिफाको निलम्बनमा रहेकोले नेपालको सबै अन्तर्राष्ट्रिय सहभागिता रोकिएको छ भने देशभित्र फुटबल गतिविधि पनि ठप्प अवस्थामा छ।






