उद्योगमन्त्रीको ग्यास लुकाएको दाबीलाई वाणिज्य विभागले अस्वीकृत गर्यो, र्याडिसन होटलमाथि गरिएको छापामाथि विवाद

सरकारले बजारमा कृत्रिम ग्यास अभावको जिम्मेवारी लिने सट्टा पाँचतारे होटलमा छापा मारेर आफ्नो कमजोरी लुकाउन एक सस्तो रणनीति अपनाइरहेको छ। वाणिज्य विभागले र्याडिसन होटलको सिलिन्डर भण्डारण नियमित उपभोग प्रक्रियाअनुसार भएको स्पष्ट पारे पनि मन्त्रालयले त्यसलाई कालोबजारी भन्नेसम्म गरेको छ। व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरूले सरकारको उक्त कार्यशैलीबाट समस्या समाधान नहुने र सिन्डिकेट तोडेर आपूर्ति सहज बनाउनुपर्ने माग गरेका छन्। २८ साउन, काठमाडौं। एक महिनादेखि देशभरि खाना पकाउने एलपी ग्यासको कृत्रिम अभावले गर्दा सर्वसाधारण सडक छेउ खाली सिलिन्डरहरूको लाइनमा उभिएका छन्। तर, ग्यास आपूर्ति व्यवस्थापनमा पूर्णरूपले असफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो कमजोरी लुकाउन अहिले सस्तो स्टन्ट र गलत प्रचारमा सक्रिय छ। कहिले उद्योगमन्त्री गौरीकुमारी यादव आफैं उपभोक्ताको फोन उठाएर ‘ग्यास पाउनुहुन्छ’ भनी आश्वासन दिन्छिन् त कहिले मन्त्रालयअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित अनुगमनलाई पाँचतारे होटलमा छापा मारेको जस्तो देखाएर बहादुरीको प्रचार गर्छिन्। आजै मात्र मन्त्रीको सचिवालयले वाणिज्य विभागले लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा छापा मारेर १८४ ग्यास सिलिन्डर ‘लुकाएर राखेको’ दाबी मिडियामा गर्यो। मन्त्रालयले उपभोक्ताले ग्यास नपाएको बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको भन्दै कारबाहीको तयारी भइरहेको जानकारी समेत दिएको छ। तर, सरकारको यो दाबी कति हास्यास्पद छ भने विभागकै मुचुल्कामा भनिएको छ– ‘होटलको भान्सामा एकैपटक ७० सिलिन्डर प्रयोग भइरहेको पाइयो।’ एउटा अन्तर्राष्ट्रिय चेन होटल जसले दैनिक सयौँ पाहुनालाई सेवा दिनुपर्छ र जसको भान्सामा एकैपटक ७० ग्यास सिलिन्डर जोडिन्छन् (म्यानफोल्ड प्रणालीबाट), त्यहाँ १८४ सिलिन्डर मौज्दात भेटिनु अनधिकृत भण्डारण वा कालोबजारी कसरी हुन सक्छ? गणितीय हिसाबले पनि ७० सिलिन्डर एकैपटक खपत हुने ठाउँमा १८४ सिलिन्डर हुनु त्यो ठाउँमा मुस्किलले दुईदेखि तीन दिनको ब्याकअप मात्र हो। बजारमा ग्यासको ठूलो अभाव हुँदा र सरकारले नियमित आपूर्ति ग्यारेन्टी गर्न नसकेको बेला एउटा व्यवसायले सेवा निरन्तर राख्न दुई–तीन दिनको ग्यास जोहो गर्नु अपराध हो कि बाध्यता? यस कुरा बुझेर पनि विभागले र्याडिसनमाथि देखाएको ‘छापामार शैली’ केवल स्टन्ट र आफ्नो कमजोरी लुकाउने हतियार मात्र हो। हामीले छापा मारेका होइनौं, नियमित अनुगमन मात्र हो: वाणिज्य विभाग अनुगमनमा खटिएको उद्योग मन्त्रालयकै वाणिज्य विभागले भने होटलले कुनै ग्यास लुकाएको छैन र त्यो नियमित प्रयोगको लागि मात्र दिएको हो भनी स्पष्ट पारेको छ। वाणिज्य विभागका सूचना अधिकारी अनिल किराँतीले मन्त्रालयको दावी ठाडो अस्वीकार गर्दै विभागले कुनै छापा नमारिएको र केवल नियमित अनुगमन मात्र गरिएको बताए। पाँचतारे होटलहरूको ग्यास प्रयोग प्रणाली ठूलो भएकाले डेढ सय सिलिन्डर भेटिनुलाई कालोबजारी वा लुकाइएको भन्न नमिल्ने उनको तर्क छ। “हाम्रो विभागको यो नियमित अनुगमन हो, हामीले ५–६ वटा पाँचतारे होटलहरू र्याडिसन, सोल्टी, ह्यातमा अनुगमन गरेका थियौं,” सूचना अधिकारी किराँतीले भने, “अनुगमनमा देखियो, पाँचतारे होटलमा करिब डेढ सय सिलिन्डर हुन्छन् र उनीहरूले ८०–९० सँग एकैपटक तार जोडेर चलाउँछन्, त्यो खपत हुने ग्यास हो, लुकाएर राखिएको होइन।” आफ्नै विभागले ग्यास नलुकाएको निष्कर्ष दिए तापनि मन्त्रालय र मन्त्रीले भने छापा मारेपछि लुकाएको ग्यास बरामद भएको झूटो प्रचार गरेको पाइएको छ। यस बिषयमा सूचना अधिकारी किराँतीले मन्त्रालयको स्टन्टबारे अनभिज्ञता जनाएको छ। “यस विषयमा म केही भन्न सक्दिनँ,” उनले भने, “तर हाम्रो छानोबाट हेर्दा यो एउटा नियमित अनुगमन मात्र हो र होटलले नियमित प्रयोगको लागि राखेको ग्यास हो।”





