
फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले आजदेखि सुरु हुँदैछ। नेपालबाट होरा ईस्पोर्ट्ससहित १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। विजेताले पाँच लाख अमेरिकी डलर पुरस्कार जित्नेछन्। २९ साउन, काठमाडौं।
ईस्पोर्ट्स विश्वकपको प्रमुख प्रतिस्पर्धा पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले फ्रान्सको पेरिसमा आजबाट सुरु हुँदैछ। फाइनलमा नेपालका होरा ईस्पोर्ट्ससहित १६ टोली भिड्दैछन्। होरा समूह चरणबाट प्रत्यक्ष ग्रान्ड फिनालेमा उक्लिएको हो। गत आइतबार सम्पन्न खेलपछि समूह ‘बी’ का शीर्ष पाँच टोलीमध्ये होराले प्रत्यक्ष फाइनल प्रवेश गर्यो।
होराले एक चिकेन डिनरसहित कुल ९८ अंक हात पार्दै समूह ‘बी’ मा चौथो स्थान हासिल गरेर फाइनलमा पहुँच बनाएको हो। अब तीन दिनसम्म चल्ने फाइनलमा होराले अन्य १५ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ बाट भाइटालिटी सर्वाधिक १४८ अंकसहित फाइनलमा पुगेको छ भने आईडीए, एसटुजी र गडलाइक टोलीहरू पनि होरासँगै सोझै फाइनल पुगेका हुन्।
समूह चरणबाट १० टोली र सर्भाइभल स्टेजबाट ६ टोली गरी कुल १६ टोली फाइनल खेल्नेछन्। सर्भाइभल स्टेजबाट तियान्बा, अलुला क्लब, एनएस रेडफोर्स, फ्यूरिया, युएलएफ ईस्पोर्ट्स र ईएरेना टोलीले फाइनल प्रवेश गरेका छन्। समूहमा चौथो रहेको होराले ५७ हजार ५०० अमेरिकी डलर पुरस्कार पक्का गरिसकेको छ। अब ग्रान्ड फिनालेमा करोडौं डलर पुरस्कारको राशि राखिनेछ।






