Skip to main content

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा शीर्ष ८ खेलाडीको समीकरण पूरा

लिनिङ १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा पुरुष र महिला एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। पुरुष एकलको सेमिफाइनलमा क्षितिज खनालले विष्णु कटुवालसँग र प्रफुल महर्जनले प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन्। महिला एकलतर्फ रसिला महर्जनले निता लम्सालसँग तथा रिहाना सेरचनले शेस्ना श्रीपालसँग फाइनल प्रवेशका लागि खेल्नेछन्। २९ साउन, काठमाडौं।

सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा बिहीबार सम्पन्न समूह चरणका खेलसँगै पुरुष र महिला एकलतर्फका समूह विजेता र उपविजेताको निर्णय भएको छ। पुरुष एकलको समूह ‘ए’ बाट एपीएफका क्षितिज खनालले तीन खेलमा तीनै जितसहित समूह विजेता बने। प्रिन्स दाहाल दुई जितसहित उपविजेता भएर सेमिफाइनल प्रवेश गरे।

समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले सबै तीन खेल जित्दै विजेता बने भने पुलिसका विष्णु कटुवाल दुई जितसहित उपविजेता भए। महिला एकलतर्फ समूह ‘ए’ बाट नेपाल नम्बर एक खेलाडी तथा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन दुई खेलमा दुई जितसहित विजेता बनिन्।

महिला यू–११ एकलतर्फ आर्मीकी युमिका राई, सिन्धुपाल्चोककी रिदिना श्रेष्ठ, इमाडोल ब्याडमिन्टनकी इर्याना मगर, ग्यालेक्सीकी योन्जना मगर, आर्मीकी अरक्षा डंगोल, जेबीएकी देनिशा प्रधान, ग्यालेक्सीकी अर्चना मगर र एपीएफकी रेन्शा श्रेष्ठ क्वाटरफाइनलमा पुगेका छन्।