२० औं एसियन गेम्स सुरु हुन एक महिना बाँकी, ४३ खेलमा ११ हजारभन्दा बढी खेलाडी सहभागि हुने

जापानको आइची-नागोयामा १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने २० औं एसियन गेम्स सुरु हुन अब एक महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अनुसार १६ दिन चल्ने प्रतियोगितामा ४५ देशका ११ हजारभन्दा बढी खेलाडी र ६ हजार पदाधिकारी सहभागी हुनेछन्। २० औं एसियन गेम्समा ४३ खेलका ७१ विधा, ४६९ स्पर्धा र १ हजार ४०७ पदक रहनेछन्।
जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि जापानले दुई पटक टोकियो (१९५८) र हिरोशिमा (१९९४) एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। आइची–नागोया २०२६ एसियाको प्रमुख बहु–खेलकुद महोत्सवका रूपमा महादेशलाई एकताबद्ध गर्ने महत्वपूर्ण अवसर बन्नेछ। यहाँ १० हजार २०० स्वयंसेवकले सहयोग गर्नेछन् भने ५ हजार ३०० मान्यता प्राप्त सञ्चारकर्मीले प्रतियोगिताको समाचार तथा गतिविधि विश्वभर पुर्याउने ओसीएको भनाइ छ।
ओसीएका अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले यी खेलहरूले एसियालाई एकताबद्ध गर्ने शक्ति र साझा दृष्टिकोणको वास्तविक सामर्थ्य प्रस्तुत गर्ने बताएका छन्। ओसीएका महानिर्देशक हुसेन अल-मुसल्लमले जापानलाई धन्यवाद दिँदै भने, “यी खेलहरूले जापानमा मात्र नभई सम्पूर्ण एसियाका लाखौं मानिसका लागि अविस्मरणीय क्षण सिर्जना गर्नेछन्।” आइची–नागोया २०२६ को उद्घाटन समारोह १९ सेप्टेम्बरमा भव्य रूपमा हुनेछ भने ४ अक्टोबरमा समापन समारोहसँगै प्रतियोगिता सम्पन्न हुनेछ।






