Skip to main content

बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ

४ भदौ, काठमाडौं । बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ । यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो । संसदमा बीएनपीको दुई तिहाइभन्दा बढी बहुमत छ । त्यसैले मिर्जा फखरुल इस्लाम आलमगीरको जित सुनिश्चित मानिएको छ । उनी पेशाले अर्थशास्त्री हुन् । सन् १९९० को दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए । उनी पहिले कृषि राज्यमन्त्री र स्थानीय मन्त्री समेत बनेका थिए ।

मतगणना प्रत्यक्ष प्रसारण हुनेछ र विजेताले भोलि नै शपथ लिनेछन् । राष्ट्रपति निर्वाचनमा ३४९ जना सांसद सहभागी हुनेछन् । नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझै बंगभवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नेछन् । पूर्व प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्य कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्नुभन्दा पहिले गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुन लागेको हो । हाल बंगलादेशमा सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका छन् । बंगलादेशको संविधान अनुसार पद रिक्त भएको ९० दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ ।