
काठमाडौं । रुसको पछिल्लो आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो आक्रमणमा ४० जना भन्दा बढी घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका छन्। युक्रेन निरन्तर एयर डिफेन्स मिसाइलको अभाव भोगिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका आक्रमणमा शहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निशाना बनाइएको छ। यस आक्रमणले एउटा बालबालिका अस्पताल र विद्यालयमा पनि क्षति पुर्याएको छ। एयर डिफेन्स मिसाइलको कमीकमजोरीका कारण यी मृत्युहरू भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेन आफ्नो एयर डिफेन्सका लागि पश्चिमी देशहरूबाट प्राप्त हुने मिसाइलहरूमा निर्भर छ। किभका मेयर भिताली क्लित्स्कोले एक क्षतिग्रस्त अपार्टमेन्ट ब्लक बाहिर संवाद गर्दै भने, ‘युक्रेनलाई गोला-बारुद र मिसाइल प्रतिरोधी प्रणालीको आवश्यकता छ। हामीलाई हाम्रा सहयोगीहरूको समर्थन चाहिन्छ।’






