पानमा नहर विवादः होर्मुज संकटले महाशक्तिहरूबीचको द्वन्द्व कसरी बढाइरहेको छ?

इरान युद्धका कारण स्ट्रेट अफ होर्मुजमा अवरोध जारी रहँदा विश्वकै महत्त्वपूर्ण जलमार्गहरू मध्ये अर्काे हजारौं माइल टाढाको नयाँ विकल्प प्रकट भएको छ। यो एटलान्टिक र प्रशान्त महासागर जोड्ने पानमा नहर हो। अमेरिकाले पानमा नहरमाथि चीनको बढ्दो प्रभावले विश्वव्यापी व्यापार र सुरक्षा चुनौतीमा पार्न सक्ने चेतावनी जारी गर्दै आएको छ। बेइजिङले ती आरोप अस्वीकार गर्दै वाशिङ्टनले नहरलाई आफ्नो प्रभुत्व विस्तार गर्ने बहाना बनाएर प्रयोग गरेको आरोप लगाएको छ।
दुई पक्षबीच तनावमा परेको पानमाले नहरमाथिको आफ्नो सार्वभौमसत्ता पुनः पुष्टि गरि नहरलाई स्थायी तटस्थ रहनुपर्नेमा जोड दिएको छ। पानमा नहर ८० किलोमिटर लामो कृत्रिम जलमार्ग हो जसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ र पानमाको साँघुरो भूभाग हुँदै पार हुन्छ। केप हर्नको परिक्रमा गर्नुपर्ने लामो समुद्री यात्रा घटाएर यसले पानीजहाजको यात्रा समय र यातायात खर्चलाई उल्लेखनीय रूपमा कम गर्छ।
पानीजहाजको आकार, प्रकार र कार्गो अनुसार यातायात शुल्क लागू हुन्छ र इजिप्टको सूइज कनालजस्तै संरचना छ। नहरले जहाजहरूलाई समुद्र सतहमा भन्दा माथि रहेको गातुन तालसम्म पुर्याउन लक प्रणाली प्रयोग गर्छ, जहाज अर्को छेउ पुगेपछि फेरि समुद्री सतहसम्म तल झर्छ। प्रत्येक यात्रा गर्दा लाखौं ग्यालन पानी प्रयोग हुन्छ। पानी भर पर्नु पर्ने हुँदा खडेरीको जोखिम रहेको छ। पानी घट्दा जहाजको डुबाइमा प्रतिबन्ध लाग्न सक्ने र यसले नहरको क्षमता घटाउन सक्ने अवस्था छ।
विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जलढुवानी संघ बाल्टिक एन्ड इन्टर्न्याश्नल मेरिटाइम काउन्सिल (बिम्को) भन्छ कि पानमा नहर हुँदै आवतजावत हुने जहाजको संख्या ८ प्रतिशत बढेको छ र मे २०२६ सम्म दैनिक ३८ जहाज पुगेको छ जुन नहरको पूर्ण सक्षमतासँग नजिक छ। बिम्कोले इरान युद्ध तीव्र भएको पाँच सातामा आवतजावत १६ प्रतिशतले बढेको जनाएको छ। स्ट्रेट अफ होर्मुजको द्वन्द्व र कठिनताले तेल व्यापारमा बाधा पुर्याएपछि एसियाली विक्रेताहरूले अमेरिकी गल्फ कोस्टको आपूर्तिकर्ताबाट कच्चा तेल र इन्धन खरिद बढाएका छन्।






