हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न

४ असोज, हङकङ (रासस/एपी)। सन १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेपछि त्यसपछिका संक्रमणकालीन सुरुवाती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ। अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारीहरू तथा हङकङका राजनीतिक नेताहरू सहभागी थिए। सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरणपछि हङकङमा आयोजित यो तेस्रो राजकीय अन्त्येष्टि हो। सन् १९९७ देखि २००५ सम्म हङकङको प्रमुख कार्यकारी रहेका तुङको ८९ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएको थियो।
ढुवानी व्यवसायी तुङले करिब आठ वर्षे कार्यकालमा एशियाली वित्तीय सङ्कट, सार्स महामारी र व्यापक जनप्रदर्शनहरूको सामना गरेका थिए। अन्त्येष्टिस्थल हङकङ फ्युनरल होम बाहिर फूलका माला राखिएका थिए। हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेको भिडियोमा समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर निकालिएको दृश्य देखाइएको थियो। समारोहस्थलभित्र सञ्चारकर्मीहरूलाई प्रवेश दिइएको थिएन।
चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टि स्थलबाट सँगै बाहिरिएका थिए। एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो। अन्य व्यक्तिहरू हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जली स्थलहरूमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। तुङको निधनपछि चिनियाँ सरकारले उनलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो।






