Skip to main content

दीपक थापाले पीएसए नेपाल स्याटेलाइट स्क्वाशमा विजयी शुरुवात गरे

नेपालमा पहिलो पटक आयोजित पीएसए नेपाल स्याटेलाइट स्क्वाश प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी दीपक थापाले विजयी शुरुवात गरेका छन्। सातदोबाटोस्थित स्क्वाश कोर्टमा भएको पुरुष एकलतर्फको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ सेटको अन्तरले पराजित गरे। उनले पहिलो, तेस्रो र चौथो सेटहरू ११–७, ११–४ र ११–४ अंकले जितेका थिए भने दोस्रो सेट ९–११ ले हराए।

अन्य खेलहरूमा, मलेसियाका अबिनाश अनबुसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा पराजित गरेका छन् भने श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई पनि ३–० ले हराएका छन्। नेपाल स्क्वाश र्‍याकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ खेलाडी सहभागी छन्। प्रतियोगिता भदौ ९ गतेसम्म सञ्चालन हुनेछ।

कुल १ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले ४०० डलर प्राप्त गर्नेछन् भने उपविजेताले २०० डलर पुरस्कार पाउनेछन्। सेमिफाइनल तथा क्वार्टरफाइनलसम्म पुगेका खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ।