
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले जापानको आइची नागोयामा आयोजना हुन लागेको बीसौँ एसियन खेलहरूमा दुई जना तेक्वान्दो खेलाडी समेटिएको शरणार्थी टोलीलाई सहभागी गराउने निर्णय गरेको छ। सेप्टेम्बर १९ मा उद्घाटन हुने र अक्टोबर ४ मा समापन हुने उक्त खेलहरूमा टोलीको आधिकारिक नाम ‘ओसिए रिफ्युजी टिम’ हुनेछ। प्रतियोगिताको समयमा यो टोलीलाई ‘एसियन रिफ्युजी टिम (एआरटी)’ भनेर चिनिनेछ र यदि टिमले स्वर्ण पदक जित्यो भने ओसिएको झण्डा फहराई राष्ट्रिय गान बजाइनेछ।
ओसिएले दुई सदस्यीय शरणार्थी टोलीको सहभागिता सुनिश्चित गरेको छ, जसमा तेक्वान्दोका दुई जना खेलाडी मात्र रहनेछन्। आवश्यक आधिकारिक पोशाक ३६१ डिग्रीलले उपलब्ध गराउनेछ। तेक्वान्दो प्रतियोगिताको स्थलमा झण्डा प्रदर्शन गर्दा ओमानको झण्डापछि तुरुन्तै ओसिएको झण्डा राखिने व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा खेलाडीहरूको मार्चपासमा ओसिए रिफ्युजी टिम यमन ओलम्पिक कमिटीको पछि र आयोजक राष्ट्र जापानको राष्ट्रिय ओलम्पिक कमिटीको अघि रंगमञ्चमा प्रवेश गर्नेछ।
बीसौँ एसियन खेलहरू सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा आयोजना हुनेछ।






