Skip to main content

हर्क साम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्यबारे प्रश्न उठाए

हर्कराज राईले प्रधानमन्त्रीको निजी जीवन हुँदैन भन्दै मुस्ताङ भ्रमणबारे प्रतिनिधिसभामा जवाफ दिनुपर्ने बताएका छन्। उनले कोशी कटानले सुनसरीमा सयौं हेक्ट्रे खेतीयोग्य जमिन कटान भएको र ५६ वटा ढोका खोल्ने साँचो कसको हातमा छ भनी प्रश्न उठाएका छन्। साम्पाङले स्वास्थ्य क्षेत्रमा दुई दिनको विदा हटाउन, झापा र बिर्तामोडका क्यासिनो समस्यामा र ग्यास अभावमा सरकारको ध्यानाकर्षण गराएका छन्।

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदलाई निजी जीवन नभएको बताएका छन्। “प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा मुस्ताङ जानुभयो भनेर कुरा आएको छ। प्रधानमन्त्री पदको निजी जीवन हुँदैन। यो कुरा हेक्का राख्नुपर्छ,” साम्पाङले प्रतिनिधिसभा बैठकमा भने।

प्रधानमन्त्री एक्लै नभएको र सरकारी सुरक्षा संयन्त्र स्वतः सक्रिय हुने उनले उल्लेख गरे। “उहाँ निजी भ्रमणमा जानुभएको, मन्त्रिपरिषदलाई सूचना नदिई, संसदलाई जानकारी नदिई कहिँ जानुभएको हो भने के खान जानुभएको?” उनको प्रश्न रह्यो, “हावा थिएन भने काठमाडौंमा हावा छ। मुस्ताङमा सायद तातो पनि छैन होला अहिले। के के चाख्न जानुभएको हो त्यो उहाँले भन्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ।”

मुलुक विपत्तिमा रहेको बताए। कोशी कटानले सुनसरीमा सयौं खेतीयोग्य जमिन कटान भएको उल्लेख गरे। ५६ वटा ढोका खोल्ने साँचो कसको छ भनेर प्रश्न गरे। आफ्नो भूमिलाई बचाउन सरकार सक्षम हुनुपर्ने बताए। साथै स्वास्थ्य क्षेत्रमा दुई दिन विदा हटाउन माग गरे। झापा र बिर्तामोडका क्यासिनोले नागरिकको घरबार नराम्रोसँग प्रभावित बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराए। नागरिकहरूले ग्यासको अभावबाट मुक्तिका लागि पहल नभएको बताए। सरकारले इन्डक्सन किन्ने योजना भए स्पष्ट पार्न आग्रह गरे।