नेतन्याहु: चुनाव हराए पनि परिवारलाई आजीवन सुरक्षा, इरानको हत्या प्रयास भएको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार इरानले आफ्नो एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्। उनले आफ्नो परिवारलाई दिइएको सुरक्षा कुनै राजनैतिक फाइदाका लागि नभई नितान्त आवश्यक रहेको बताएका छन्। इजरायली घरेलु सुरक्षा निकाय शिन बेटले नेतन्याहुको पत्नी सारा र दुवै छोराहरूलाई लामो समयसम्म सुरक्षा दिने निर्णय स्वीकृत गरेको छ। ९ भदौ, काठमाडौं।
नेतन्याहुले इजरायलको च्यानल १४ लाई दिएका फोन अन्तर्वार्तामा इरानले उनको परिवारलाई लक्षित गरेको खुलासा गरेका छन्। उनले भने, “एउटा अविश्वसनीय घटना भयो। इरानले मेरो एक छोरालाई निसाना बनायो र उसको हत्या गर्ने प्रयास गर्यो।” यद्यपि, उनले आफ्ना दुई छोराहरू याइर र अव्नरमध्ये कसलाई निशाना बनाइएको थियो भन्ने कुरा सार्वजनिक गरेनन्।
नेतन्याहुको बयान सार्वजनिक हुनासाथ, प्रमुख इजरायली पत्रकार अमित सेगलले यो कथित हत्या प्रयासबारे महिनौंदेखि जानकारी भए पनि प्रकाशनमा रोक लागिरहेको दाबी गरेका छन्। इजरायलमा नेतन्याहुको परिवार र अन्य राजनीतिक नेताहरूलाई दिइने सुरक्षा खर्चलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। त्यही क्रममा शिन बेटले नेतन्याहुको पत्नी सारा र उनका दुवै छोराहरूको सुरक्षा बढाउने निर्णय गर्यो।
गत जुलाईमा ‘शिन बेट मामिलासम्बन्धी मन्त्रिस्तरीय समिति’ ले नेतन्याहु र उनकी पत्नी सारालाई आजीवन उच्चस्तरीय सुरक्षा प्रदान गर्ने निर्णय गरेको थियो। दुवै छोराहरूलाई कम्तिमा ५ वर्षसम्म (२०३१ सम्म) सुरक्षा दिइने छ। यसको अर्थ नेतन्याहुले आगामी चुनाव हराए पनि उनको परिवारले यो सुरक्षा सुविधा पाउनेछ। विपक्षी उम्मेदवार गाडी आइजेनकोटलाई शिन बेटले सुरक्षा दिन अस्वीकार गरेको रिपोर्टहरू चर्चा भइरहँदा नेतन्याहुको यो दाबी सार्वजनिक भएको हो।






