Skip to main content

श्रीलंकाका सहान अराचिगे काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्ने भएका छन्

काठमाडौँ गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचिगेलाई तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न अनुबन्ध गरेको छ। बाँयाहाते ब्याटर सहानले दायाँहाते अफस्पीन बलिङ गर्छन् र टी-२० मा १०३ खेलमा १ हजार ४६२ रन तथा ५४ विकेट लिएका छन्। उनले २०२१ को एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट नेपालमा खेलिसकेका छन्। १० भदौ, काठमाडौं।

श्रीलंकाका अलराउन्डर सहान अराचिगेले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने भएका छन्। काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत सहानलाई अनुबन्ध गरेको जानकारी सार्वजनिक गरेको हो। सहानले टी-२० क्रिकेटमा १०३ खेल खेलेर कुल १४६२ रन बनाएका छन् र ५४ विकेट पनि लिएका छन्। उनले लंका प्रिमियर लिगको उपाधि पनि जितिसकेका छन्।

सहानले श्रीलंका तर्फ पाँच एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। उनी श्रीलंका ‘ए’ टोलीका कप्तानसमेत रहेका छन्। हालै लंका प्रिमियर लिगमा गल गालान्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए।

काठमाडौँ गोर्खाजका क्रिकेट निर्देशक शरद भेषावकरका अनुसार, ‘विजय भावना बोकेका सहान जोशिला खेलाडी हुन्। उनी निरन्तर एकरूप प्रदर्शन दिन सक्ने र दबाबमा पनि योजनाअनुसार खेल्न सक्ने छन्। उनले लंका प्रिमियर लिग र श्रीलंका ‘ए’ बाट धेरै म्याच जिताएका छन्। उनको स्वभाव र स्पष्ट मानसिक्ताले हाम्रो ब्याटिङ लाइनअपलाई मद्दत गर्नेमा म विश्वस्त छु। काठमाडौँ गोर्खाजका लागि उनको ब्याटिङ, बलिङ र फिल्डिङ क्षमता लाभदायक हुनेछ।’