
रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई सकुशल उद्धार गरिएको छ। प्रतिकूल मौसमका बावजुद त्रिशूली-३ ‘बी’ र अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा सम्भावित उद्धारका लागि तयारी र टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ पनि परिचालन गरिएको छ।
१२ भदौ, काठमाडौं। रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ जना कर्मचारीहरूलाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका कर्मचारीहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर ल्याएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
त्यसैगरी, त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जानकारी प्राप्त भएको छ। मौसम प्रतिकूल भएकाले उद्धार कार्यमा केही ढिलाइ भए तापनि प्रभावित क्षेत्रमा उद्धार अभियानलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताइएको छ। बाढीका कारण प्रभावित अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक सामग्रीसहित ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ। टनेलभित्र फसेका व्यक्तिहरूको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीसहित टोली आयोजनातर्फ परिचालन गरिएको छ।






