
रसुवामा ल्हेन्दे खोलामाथिको लाङटाङ हिमालको उत्तरी पाखोबाट खसेको हिमचट्टान र हिमपहिरोले विनाशकारी बाढी आएको अनुसन्धानकर्ता सन्तोष नेपालले बताए। नेपालले रसुवाको बाढीलाई हिमताल विस्फोट होइन, करिब ५ हजारदेखि ५५ सय मिटर उचाइबाट ३ हजार मिटर तल खसेको ग्लेसियर आइस फलसँग मिल्दोजुल्दो भनेका छन्। उनले पूर्वसूचना प्रणालीलाई रिमोट सेन्सिङ, एआई र अन्तरदेशीय सूचना आदानप्रदानसँग परिमार्जन गर्नुपर्ने बताउँदै जलवायु संकटका कारण जोखिम बढेको उल्लेख गरे। गत बुधबार बिहान नेपाल–तिब्बत सीमामा पर्ने ल्हेन्दे खोलाको माथिल्लो भागबाट सुरु भएको विनाशकारी बाढीले रसुवादेखि मुग्लिनसम्म जनधनको ठूलो क्षति पुर्यायो।
लाङटाङ हिमालको उत्तरी पाखोमा रहेको ठूलो हिमचट्टानसहितको पहिरो तल खसेपछि भीषण बाढी आएको थियो। जलस्रोत तथा जलवायु परिवर्तनका अनुसन्धानकर्ता सन्तोष नेपाल (पीएचडी) दुई हजार मिटर तल खसेर बजारिएको हिमचट्टानबाट निस्किएको उर्जाले विनाशकारी बाढी निम्त्याएको हुनसक्ने बताएका छन्। लाङटाङ हिमपहिरो र त्यसपछि आएको रसुवा बाढीको कारणबारे अनुसन्धानकर्ता नेपालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले कुराकानी गरेका छन्।
नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आएको बाढीले नेपालका धेरै ठाउँ तहसनहस गर्यो। यसरी अचानक यति ठूलो बाढी आउनुको कारण के होला? रसुवामा गएको बाढी अत्यन्त विनाशकारी थियो। नेपालको इतिहासमा यस किसिमको फ्ल्यास फ्लड (अचानक आएको ठूलो बाढी) पहिले देखिएको थिएन। पहाडी भेगमा यस्तो विनाशकारी बाढीका विभिन्न कारण हुन सक्छन्। हिजो हामीले सेटेलाइटबाट केही तस्वीरहरू प्राप्त गरेपछि के कारणले पहिरो गएको थाहा पाउन सकियो।
सुरुमा धेरै विशेषज्ञहरूले हिमताल विस्फोट वा त्यस्तै घटना भएर यति ठूलो मात्रामा पानी बगेको अनुमान गरेका थिए। अहिले किन फरक तथ्य आएको हो? हिमाली क्षेत्रमा थुप्रै हिमतालहरू छन्, ठूलो बाढी आएपछि पहिलो शंका हिमतालमाथि नै पुग्छ। भोटेकोशी क्षेत्रमा पनि हिमताल रहेकोले विशेषज्ञहरूले त्यसमाथि शंका गर्नु स्वाभाविक हो। तर प्लानेट ल्याबको सेटेलाइट इमेजले आम अनुमानलाई उल्टो सावित गर्यो। लाङटाङ हिमालको उत्तर भाग करिब पाँच हजारदेखि ५५०० मिटरको उचाइमा रहेको ग्लेसियर (हिमनदी) खसेको देखियो। सेटेलाइट तस्वीरमा त्यहाँ ठूलो पहिरो गएको देखियो, ग्लेसियर आइस र हिउँ तल खसेको हुनसक्छ।






