
दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गरायो
१४ भदौ, काठमाडौं । रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त यी फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । उपलब्ध गराइएका कुल फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोगको लागि पठाइएको छ ।
स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निशुल्क प्रयोग गर्न सकिने छन् । टेलिकम नेटवर्क नपुगेका दुर्गम क्षेत्रहरूमा समेत स्याटेलाइटका माध्यमबाट फोन र एसएमएस सेवा उपलब्ध गराउने यो प्रविधि धेरै महँगो मानिन्छ । यसको प्रयोगले विपद्का बेला सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।