Skip to main content

भोटेकोशी–त्रिशूली बाढी: जलविद्युत् क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति, ९०० मेगावाटसम्म प्रभावित

भदौ १० गते ठूलो चट्टान, लेदो, गेग्रामसहित उर्लिएको भोटेकोशी र तल त्रिशूली नदिले मानव जीवन र आर्थिक पक्षमा ठूलो क्षति पु¥याएको छ। त्रिशूली करिडरभित्र पर्ने एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना ‘कास्केडिङ’ स्वरूपमा बनेका वा निर्माणाधीन छन्, जसमध्ये केही पूर्ण रूपमा ध्वस्त भएका छन्। यस क्षेत्रमा कार्यरत दक्ष प्राविधिकहरू सहित सयौं मानिसहरू अझै पनि बेपत्ता छन्। यस क्षेत्रका जलविद्युत् परियोजनाको विकासमा प्रारम्भदेखि संलग्न पूर्वमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई नेपालको जलविद्युत् विकासकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति मान्नु भएको छ। घिसिङले भनेका छन् कि यी आयोजना पुनर्निर्माण गर्न कम्तीमा केही वर्ष लाग्ने सम्भावना छ।

भदौ १४ गते स्थलगत निरीक्षणका क्रममा घिसिङले विभिन्न जलविद्युत् केन्द्रहरूमा पुगेर क्षतिको विवरण प्रस्तुत गर्नुभएको छ। “रसुवागढी, चिलिमे, लाङ्टाङ खोला, त्रिशूली ३ जस्ता आयोजनाहरूको पावरहाउस र हेडवर्क्स दुवै पूरै ध्वस्त भएका छन्। करिब २५० मेगावाट क्षमताका जलविद्युत् आयोजना पूर्ण रूपमा नष्ट भएका छन्। अर्को करिब २३०-२३५ मेगावाट क्षमताका आयोजनाको प्रसारण लाइन तथा सबस्टेशन ध्वस्त भएपछि बन्द छन्,” उहाँले बताउनुभयो। “अर्थात् करिब ४५० मेगावाट क्षमता भएका आयोजनाहरू बन्द छन्, जसमध्ये २५० मेगावाट क्षमताका आयोजनाहरू पूर्ण रूपमा नष्ट भएकाले केही वर्षसम्म सञ्चालनमा आउन सक्ने छैनन्।”

निर्माणाधीन कैयौँ आयोजनाहरू पनि क्षतिग्रस्त भएका छन्। “सामान्यतया हेर्दा निर्माणाधीन करिब ५०० मेगावाट क्षमताका आयोजनाहरू प्रभावित भएका छन्। हाल सञ्चालनमा रहेका ४३० मेगावाट क्षमताका आयोजनाहरू बन्द छन् र २५० मेगावाट क्षमताका आयोजनाहरू पूरै नष्ट भएका छन्। कुलमिलाएर त्रिशूली करिडरका ९०० मेगावाट क्षमताका आयोजनाले क्षति भोगेका छन्,” घिसिङले जानकारी दिनुभयो। “पहुँच मार्गहरू समेत बगाएपछि समग्र क्षेत्र बगरमा परिणत भएको छ। टिमुरे, रसुवागढीदेखि बेत्रावती, विदुर र अझ तल देवीघाटसम्म क्षति पुगेको छ।”