Skip to main content

साउदी अरबको राजधानी रियादमा हुथी विद्रोहीले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी

इरानको समर्थनमा यमनबाट सञ्चालित हुथी लडाकुले साउदी अरबको राजधानी रियादमा र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा बलिस्टिक क्षेप्यास्त्रलाई निषेध गरेको जनाएका छन्। थप आक्रमण भएका छन् वा छैनन् र यसमा मानिसहरू परेका छन् वा छैनन् भन्ने कुरा उनीहरूले पुष्टि गरेका छैनन्।

यसअघि साउदी राजधानीका अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेका इन्धन भण्डारण ट्याङ्कीबाट कालो धुवाँको मुस्लो उठिरहेको देखिएको थियो। विमानस्थलका उडानहरू केही समय प्रभावित भएका थिए। इरान समर्थित हुथीहरूले जुलाईदेखि साउदी अरबमाथि बढाएका आक्रमणपछि शनिबार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका अमेरिकीहरूलाई सतर्क रहन र यहाँको यात्रा योजनाबारे पुनर्विचार गर्न आग्रह गरेको छ। साउदी नेतृत्वको गठबन्धनका एक प्रवक्ताले वक्तव्यमा यान्बोसहितका शहरहरूमा “नागरिकलाई निशाना बनाउने शत्रु पक्षको प्रयास”लाई हवाई प्रतिरक्षा प्रणालीले असफल बनाएको बताएका छन्।

हुथीका सैन्य प्रवक्ता याह्या अल-सारेआले रियादका “संवेदनशील स्थानहरू” र यान्बो तटीय क्षेत्रमा रहेको सरकारी तेल तथा ग्यास कम्पनी अरामकोमाथि आक्रमणका लागि “ठूलो सङ्ख्यामा बलिस्टिक र क्रूज क्षेप्यास्त्र तथा ड्रोन” प्रयोग गरिएको बताए। उनले यसअघि गएको एक हप्तामा साउदी अरबले यमनभरि ३०० वटा हवाई आक्रमण गरेको आरोप पनि लगाएका छन्।