
अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू बिहान ५:३० देखि ९:३० बजेसम्म अस्थायी रूपमा रद्द गरिएका छन्। विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२,८०० यात्रु प्रभावित भएका छन्, साथै हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि असर परेको छ। विस्फोटबाट मानवीय क्षति भएको विवरण छैन, तर ज्वालामुखीय खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा र सुमात्राको लाम्पुङ लगायत क्षेत्रमा फैलिएको छ। २१ भदौ, जकार्ता (रासस/एपी)।
इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन्। इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३:५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो। ज्वालामुखी निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको दृश्य कैद गरिएको थियो। विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश दिएका छैनन्। तर, स्थानीय बासिन्दाहरू र पर्यटकहरूलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ।
सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५:३० देखि ९:३० बजेसम्म उडान सेवा अस्थायी रूपमा बन्द गरेको बताएको छ। यस क्रममा उडानहरू रद्द वा ढिला हुँदा विमानस्थलमा यात्रुको चाप बढेको देखिएको छ। अधिकारिहरूका अनुसार विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२,८०० यात्रु प्रभावित भएका छन्। प्रमुख प्रभावित उडानहरूमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग र सिंगापुर जाने अन्तरराष्ट्रिय उडान समावेश छन्। हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि रद्द, ढिलाइ र समय परिवर्तन भएको छ।
इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा तथा मौसम विज्ञान निकायसँग समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ। विमानस्थलमा रातभर पार्क गरिएका करिब १७० विमान पनि एप्रोनमै रोकिएका थिए। नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालन सम्बन्धी हरेक निर्णयमा यात्रुको सुरक्षा प्राथमिकता रहेको बताएका छन्। एयरलाइन्सहरूले सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका भएकाले उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने चेतावनी दिएका छन्। अधिकारीहरूले यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो स्थिति बुझ्न र अत्यावश्यक नभए केही समय विमानस्थल नजान आग्रह गरेका छन्।
इन्डोनेसियाको ज्वालामुखी एजेन्सी तथा अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले उपग्रहबाट प्राप्त तस्वीरहरूको आधारमा दुईवटा खरानीका बादल पहिचान गरेका छन्। एउटा खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २०,००० फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो, जसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा असर पारेको देखिन्छ। अर्को खरानीको बादल करिब ५०,००० फिट (१५,२०० मिटर) उचाइसम्म पुगेर पश्चिम र उत्तरपश्चिम तर्फ फैलिएको थियो। यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमी हिन्द महासागर क्षेत्रलाई पनि प्रभावित गरेको जनाइएको छ। अनाक क्राकाताउको अर्थ ‘क्राकाताउको सन्तान’ हो। यो सन् १८८३ मा भएको विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो। सन् २०१८ मा अनाक क्राकाताउ विस्फोटबाट आएको पानीमुनिको पहिरोले सुनामी निम्त्याउँदा जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो। वैज्ञानिकहरूका अनुसार उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो भाग समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो। अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ। वैज्ञानिकहरू भन्छन् विस्फोट र त्यसपछिका गतिविधिहरूले गर्दा ज्वालामुखी टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित भएको छ।






