
समाचार सारांश संपादकीय समीक्षा पश्चात तयार। भदौ १० गते भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्यायो। युएन वुमेनका अनुसार रसुवा र नुवाकोटमा १ लाख ५७ हजार ५० महिला तथा बालिका प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जसमा करिब ४३ हजारलाई तत्काल सहायता आवश्यक छ। युनिसेफले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा करिब ६५ हजार प्रभावित भएको जनाएको छ, जसमा १० हजार ५०० गर्भवती र स्तनपान गराइरहेका महिला छन्। भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। यसले घर, सडक, पुल, ब्यापारिक संरचना र जीविकोपार्जनका आधारहरू मात्र नभई कयौँ परिवारलाई विस्थापित र आफन्तविहीन पनि बनायो। धेरै जना अझै सम्पर्कविहीन छन्। थुप्रै परिवारले आफ्ना प्रियजन, घर, सम्पत्ति र आम्दानीका स्रोतहरू गुमाएका छन्। यसले प्रभावित समुदायमा विस्थापन, असुरक्षा, शोक, मानसिक तनाव र भविष्यप्रति अनिश्चितता झन् थपाएको छ। बाढीपछि प्रभावित र विस्थापित व्यक्तिहरूलाई होल्डिङ सेन्टर र अस्थायी आश्रयस्थलमा राखेर खोज, उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरू जारी छन्।
भोटेकोशी बाढीको प्रभावलाई लैङ्गिक र संरक्षणको दृष्टिले नियाल्दा अवस्था थप गम्भीर देखिन्छ। युएन वुमेनका अनुसार रसुवा र नुवाकोटमा करिब १ लाख ५७ हजार ५० महिला र बालिका प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। जसमा करिब ४३ हजार महिला र बालिकालाई तत्काल मानवीय सहायता आवश्यक छ। युनिसेफको ३१ अगस्ट २०२६ को प्रारम्भिक मानवीय अवस्था प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा करिब ६५ हजार प्रभावित भएर रहेका छन्। यी तथ्यांकले देखाउँछन् कि विपद्पछि अवस्था केवल भौतिक क्षतिको विषय मात्र होइन। यससँगै बाल संरक्षण, परिवार खोज तथा पुनर्मिलन, हिंसा, शोषण तथा बेचबिखनबाट सुरक्षा र मनोसामाजिक सहयोगको आवश्यकता पनि अत्यन्त गम्भीर छ। स्वास्थ्य र पोषण पक्षमा पनि जोखिम उत्तिकै भएको छ। युनिसेफको अनुसार प्रभावित क्षेत्रमा करिब १० हजार ५०० गर्भवती र स्तनपान गराइरहेका महिलालाई पोषण सहयोग, विशेषगरी आइरन र फोलिक एसिड आवश्यक पर्ने देखिएको छ। रसुवाका चार स्वास्थ्य संस्था पूर्णरुपमा क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवा अवरुद्ध छ। यसले मातृ, नवजात तथा बाल स्वास्थ्य सेवा प्रभावित बनाएको छ।
युएनएफपिएले पनि मातृत्व सामग्री, महिनावारी तथा सरसफाइ सामग्री, यौन तथा प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यलाई प्राथमिकतामा राखेको छ। यसले स्पष्ट हुन्छ– राहत केवल खाना, पानी र अस्थायी बसोबासमा सीमित हुँदैन। महिला, किशोरी, गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, गोपनीयता, मनोसामाजिक सहयोग, परिवारसँग पुनर्मिलन र यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच पनि विपद् प्रतिकार्यका आधारभूत अङ्ग हुन्।





