
भदौ १० गते बिहान। नियमितजस्तै बिहान ९ बजेको समयमा अस्पतालमा पुगें। बिरामी हेर्न थालेको केही समयमै एक सहकर्मी चिकित्सकले भन्नुभयो– नेपाल–चीन सीमातर्फ ठूलो बाढी आएको छ। मानवीय क्षतिपछि पनि खबर आइरहेको छ। अस्पतालको सामान्य भिडभाडबीच त्यो समाचार सुन्दा सुरुमा खासै ध्यान गएन। तर केही क्षणमै मेरो मन एकाएक झस्कियो। मलाई आफ्नै सासूआमा चौसरा पुन र ससुरा थमबहादुर पुनको याद आयो। उहाँहरू ‘ढोरपाटन’ बाट तीर्थयात्राका लागि गोसाइँकुण्ड जाँदै हुनुहुन्थ्यो। मनमा चिसोपन पैदा भयो। यात्राको गन्तव्य साँच्चै गोसाइँकुण्ड नै हो कि होइन भनेर निश्चित गर्न मैले मेरी सालीलाई फोन गरेँ। उनले गोसाइँकुण्ड जानै लागेको पुष्टि गरिन्। त्यतिबेलासम्म रसुवाको बाढीको खबरहरू निरन्तर आइरहेका थिए। मैले तुरुन्तै मेरी श्रीमतीसहित परिवारका सबै सदस्यलाई उहाँहरूको फोनमा सम्पर्क गर्न आग्रह गरें। तर जवाफ निराशाजनक थियो– ‘सम्पर्क हुन सकेन।’ केही समयपछि फोन गर्दा अर्को आवाज सुनियो– ‘मोबाइलको स्विच अफ गरिएको छ।’ सामान्यतः फोन नउठ्नु र मोबाइल नै बन्द हुनुबीच ठूलो अन्तर हुन्छ। केही मिनटको अन्तरालमा आएको फोनको जवाफमा आएको यही परिवर्तनले हामीलाई सम्भावित दुर्घटनाको डर ल्यायो। त्यो दिन हामी परिवारका सदस्यहरू उहाँहरूको यात्रालाई लिएर अनेक अनुमान गर्न थाल्यौँ। मेरी श्रीमती डा. सुनिता बस छुटेको स्थानमा पुगिन्। बसको नम्बर सुनिश्चित गरिन्। त्यसपछि आफन्त र साथीभाइसँग सम्पर्क गरी भदौ १० गते सम्पर्कविहीन भएका बसको नम्बर पत्ता लगाउन थाल्यौँ। आधिकारिक स्रोतबाट एउटा बस बाढीमा परेको खबर आएको थियो तर त्यो नम्बर उहाँहरूले चढेको बससँग मिल्दैन थियो। त्यो खबरले क्षणभर राहत दियो तर तनाव पनि बढायो। आशंका अझै बाँकी थियो। कहीं उहाँहरू सुरक्षित हुनुहुन्छ कि? भन्ने झिनो आशा पनि थियो। भोलिपल्टसम्मका फोनमा उही जवाफ आइरह्यो– ‘मोबाइलको स्विच अफ गरिएको छ।’ अन्तिम स्थान: बेत्रावती फोन सम्पर्क नभएपछि अर्को प्रश्नले सताउन थाल्यो– उहाँहरू आखिर कहाँसम्म पुग्नुभएको थियो? यदि अन्तिम स्थान थाहा भयो भने कम्तीमा उहाँहरूको अवस्थाबारे केही अनुमान गर्न सकिने थियो। नेपाल टेलिकममा बुझ्दा उहाँहरूको मोबाइल अन्तिम पटक बेत्रावती आसपास देखिएको जानकारी आयो। हामी केही अचम्मित भयौं। साथीभाइ र आफन्तहरूले धादिङ हुँदै गोसाइँकुण्ड जाने यात्रामा यति छोटो समयमा बेत्रावती पुग्न सक्ने सम्भावनालाई कम आँकेका थिए। तर यात्रा सुरु गरेको समय, सडकको अवस्था, यातायातको चाप र चालकको गतिले पनि समय फरक पार्न सक्थ्यो। त्यसैले एउटा सानो आशा फेरि पलायो। सायद उहाँहरू बाढी प्रभावित क्षेत्रमा पुगेका छैनन्? सायद कतै सुरक्षित हुनुहुन्छ? त्यही आशामा हामी बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय पुग्यौं। त्यहाँ धेरै मानिस आफन्तको खोजिमा आएका थिए। कोही फोनको अन्तिम लोकेसन सोधिरहेका थिए, कोही सम्पर्कविहीन आफन्तको खबर खोजिरहेका थिए। टेलिकमका कर्मचारीहरूले आफूले दिनसक्ने जानकारी दिएर सहयोग गरिरहेका थिए। त्यस्तो विपत्तिको बेला त्यहाँ देखिएको दृश्यले एउटा कुरा सिकायो– ठूलो प्राकृतिक विपत्तिले नेपालीलाई दुःखमा मात्र पुर्याउँदैन, एकअर्काका सहारा बन्न सिकाउँछ। २०७२ सालको भूकम्पमा पनि नेपाल टेलिकमले खेलेको भूमिका सम्झनामा आयो। तर बबरमहलबाट पाएको पछिल्लो जानकारीले हाम्रो आशामाथि फेरि चोट पुर्यायो। बेत्रावती लगभग बगरमा परिणत भइसकेको थियो। उहाँहरू चढेको बस फर्किएको थिएन। मोबाइल अन्तिम पटक बेत्रावतीबाट सम्पर्क भएको थियो। बेत्रावतीको अवस्था भयावह थियो र उहाँहरूसँग सम्पर्क हुन सकेको थिएन। यी सबै तथ्य एकै ठाउँमा जोडिँदा हामी मनले कल्पना नगरेको निष्कर्षमा पुग्यौं। सामाजिक सञ्जालमा एउटा झिनो आशा हाम्रो नजर पुगेको थियो। फेसबुकका पोस्ट, फोटो र भिडियोमा आँखा दौडाउँथ्यौं। कहीं ‘सकुशल छौं’ भनेर पोस्टहरूमा उहाँहरू देखिने कि? कहीं उद्धार गरिएका मानिसहरूको भिडमा उहाँहरूको अनुहार भेटिन्छ कि? प्रत्येक पोस्ट एउटा सम्भावना थियो। प्रत्येक भिडियो एउटा आशा। एक पोस्टमा उहाँहरूको शारीरिक बनावटसँग मिल्दोजुल्दो व्यक्तिहरूको भिडियो भेटियो जसले हाम्रो धड्कन बढायो। तर भिडियोमा सबैका अनुहार अर्कोतिर फर्किएका थिए। विश्वास गर्न सकिएन। पछि थाहा भयो– त्यो भिडियो ‘कटपेस्ट’ गरेर बनाइएको रहेछ। त्यो खबरले बाँकी रहेको आशामाथि पनि चोट पुर्यायो। प्राकृतिक विपत्तिमा गलत सूचना फैलाउनु केवल गलत होइन, कसैको पीडामा थप पीडा थप्नु हो। रसुवाको बाढीपछि सामाजिक सञ्जालमा फैलिएका यस्ता अपुष्ट र फेक सूचनाले पीडित परिवारलाई कति ठूलो मानसिक यातना दिन्छ भन्ने हामीले आफ्नै अनुभवबाट महसुस गर्यौं। त्यसैले मेरो व्यक्तिगत आग्रह छ– कृपया यस्तो विपत्तिको बेला अपुष्ट सूचना नफैलाऔं। अस्पतालदेखि डिएनएसम्म बाढीमा घाइतेहरूलाई उद्धार गरेर काठमाडौं ल्याउन थालिएको खबर सुनेपछि हाम्रो खोजी अस्पतालतिर मोडियो। एकपछि अर्को अस्पताल पुगेर थाहा पाउन खोज्यौं– कहीं उहाँहरू घाइते रूपमा ल्याइएको खबर छ कि? तर कुनै अस्पतालबाट सकारात्मक खबर आएन। सरकारले पहिचान हुन नसकेको शवको डीएनए परीक्षणका लागि आफन्तबाट नमुना मागेपछि उहाँहरूको छोरोले पनि रगतको नमुना दिएको थियो। तर नतिजा कहिले आउँछ भन्ने निश्चित थिएन। बाढीले निम्त्याएको विनाश विस्तारै खुल्दै थियो। यति ठूलो मानवीय क्षतिका बारे हाम्रो कल्पनाभन्दा बाहिर थियो। समय बित्दै गयो। खोजीको सम्भावना घट्दै गयो। अन्ततः आफन्तसँगको सल्लाहपछि हामी कडा निर्णयमा पुग्यौं– उहाँहरूको काजक्रिया र अन्तिम संस्कार गर्ने। तर उहाँहरूको शव हामीसँग थिएन। त्यसैले कुशको शव बनाएर रीतरिवाजअनुसार अन्तिम संस्कार गर्यौ। आफन्तहरू भेला भयौं। संस्कार सम्पन्न भयो। भदौ २२ गते, सोमबार १३औँ दिनको पितृकार्य पनि सम्पन्न गर्यौं। त्यही दिन सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाएको थियो। त्रिशूलीसँग हराएको त्यो हाँसो, मेरा आमा-बुवा, सासूआमा र ससुराको हाँस्दो अनुहार अब सम्झनामा मात्रै बाँकी छ। उहाँहरू कहाँ छन्, कसरी हराउनुभयो– यस्को जवाफ हामीसँग अझै छैन। तर एउटा कुरा पक्कै छ– उहाँहरूको जीवन अब त्रिशूलीको उर्लंदो पानीसँगै इतिहास बनेको छ। यो पीडा मेरो परिवारमा मात्र होइन, हजारौँ परिवारमा परेको छ। कसैले छोरा गुमायो, कसैले छोरी, कसैले जीवन साथी, कसैले सबैभन्दा प्रिय मान्छे। प्राकृतिक विपत्तिले घर, सम्पत्ति र बाटो मात्र बगाउँदैन, यसले परिवारका सपना, सम्बन्ध र सम्झनासमेत बगाएर लगिन्छ। बाँचेका मानिसलाई एउटै प्रश्न छोडेर जान्छ– अब कसरी जिउने? यो राष्ट्रिय शोकको घडीमा बाढी प्रभावित सबै परिवारप्रति मेरो गहिरो समवेदना छ। मृतकका आफन्तलाई यो पीडा सहन सक्ने शक्ति प्रदान होस्। अझै सम्पर्कविहीन रहेका व्यक्तिको शीघ्र खोजी होस्। तिनीहरू सकुशल भेटिऊन् भन्ने कामना छ। तर यी सबै पछि मेरो मनमा एउटा प्रश्न निरन्तर छ– के हामी यो विनाशबाट पाठ सिक्नेछौं? किनभने यस्तो विनाश पहिलोपटक नभएको छ र सम्भवतः अन्तिमपटक पनि होइन। विगतमा पनि विपत्ति आउँदा हामी आत्तिन्थ्यौं, राहत र उद्धारमा जुट्थ्यौं, अन्सु बगाउँथ्यौं। केही दिनपछि सबै सामान्य हुन्थ्यो र हामी बिर्सन्थ्यौं। तर प्रकृति हाम्रो बिर्सेकी हुँदैन। प्रकृतिले फेरि प्रश्न सोध्नेछ। त्यसअघि हामीले आफैंसँग सोध्नुपर्छ– अर्को बाढी आउनुअघि, के हामीले यसपालीको बाढीबाट साँच्चै सिक्यौँ?






