Skip to main content

‘भोटेकोशीकी विपत्ति विश्वमै दुर्लभ घटना हो’

प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशीको बाढी र जलविद्युत सुरङमा पुगेको क्षति विश्वमा एक अत्यन्त असामान्य विपत्ति भएको बताएका छन्। उहाँले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित भएको र साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुलका कारण उद्धार कार्य चुनौतीपूर्ण भएको उल्लेख गर्नुभएको छ। डिक्सले जीवित नभएका व्यक्तिहरूको खोजीमा हतार नलाग्न र उद्धार कार्य निरन्तर जारी राख्न सुझाव दिनु भएको छ साथै डिजाइनमा दोष नठान्न आग्रह गर्नुभएको छ।

२४ भदौ, काठमाडौं। अन्तर्राष्ट्रिय सुरङ र भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढीले जलविद्युत आयोजनाका सुरङ र अन्य संरचनाहरुलाई पुर्याएको क्षति विश्वमै अत्यन्त असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ। बाढीपछि प्रभावित जलविद्युत आयोजनाका सुरङभित्र फसेका तथा सम्पर्कविहीन मान्छेको खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा उद्धारको पछिल्लो अवस्था बुझाएका थिए। त्यसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भोटेकोशी क्षेत्रमा देखिएको विपत्ति र उद्धारमा देखिएका चुनौतीहरू असाधारण रहेको उल्लेख गर्नुभएको छ। ‘यस्तो प्रकारको विपत्ति विश्वमै निकै दुर्लभ देखिएको मेरो अनुभूति हो। सम्भवतः यो पहिलोपटक देखिएको घटना होला,’ उहाँले भन्नुभयो।