Skip to main content

युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, ५ जनाको मृत्यु र ६७ घाइते

युक्रेनको पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसी ड्रोन आक्रमण हुँदा ५ जनाले ज्यान गुमाएका र ६७ जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीका अनुसार दिउँसोको समयमा भएको यस आक्रमणमा सपिङ मलका पसल र वरपर रहेका सवारीसाधनहरूमा गम्भीर क्षति पुगेको छ। ‘सडकमै सर्वसाधारणको बाक्लो उपस्थिति रहेको समयमा यो आक्रमण भएको हो,’ उनले बताएका छन्।

युक्रेनी सञ्चारमाध्यमहरूले बताएका छन् कि यसै साताको सुरुमा जापोरिजिया र सुमी शहरमा रहेका अन्य दुई सपिङ मलहरूलाई पनि रुसी हवाई आक्रमणले लक्षित गरेको थियो। रुसको सोचीमा युक्रेनको समुद्री ड्रोन आक्रमणको दाबी गर्दै रुसले बुधबार राति आफ्नो रिसोर्ट शहर सोचीमा युक्रेनले समुद्री ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ।

रुसी अधिकारीहरूले भनेका छन् कि उक्त आक्रमणमा २८ जना घाइते भएका छन्। साथै, अन्य युक्रेनी आक्रमणहरूमा थप तीन जनाको मृत्यु भएको पनि रुसले दाबी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसकेको छ र दुई देशबीच युद्ध जारी छ। यसैबीच, आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले सुरु गरेको नयाँ शान्ति पहलले हालसम्म कुनै ठोस परिणाम बाहिर ल्याउन सकेको छैन।