
नासा र आईबीएमले चन्द्रमाको अवलोकनका लागि ‘नासा-आईबीएम लुनार फाउन्डेसन मोडेल’ नामक ओपन-सोर्स कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेका छन्। यस मोडेलले चन्द्रमाको सधैं छायाँ पर्ने क्षेत्रहरूमा बरफको सम्भावना, सुरक्षित अवतरण क्षेत्रहरूको खोजी र ज्वालामुखीय संरचनाको अध्ययनमा अनुसन्धानकर्तालाई सहजता प्रदान गर्नेछ। नासा र आईबीएमका अनुसार परीक्षणमा यो मोडेलले चन्द्र सतहका मुख्य विशेषताहरू अन्य विधिभन्दा २३ प्रतिशत छिटो पहिचान गरेको छ। २६ भदौ, काठमाडौं।
अमरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौं लामो अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति योजना दृढ बनाउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको हो। नासा र आईबीएमको संयुक्त प्रयासमा तयार भएको “नासा-आईबीएम लुनार फाउन्डेसन मोडेल” सार्वजनिक रूपमा उपलब्ध एआई उपकरण हो। यस मोडेललाई नासाका अघिल्ला अभियानहरूबाट प्राप्त नौवटा उपकरणले सङ्कलन गरेका ३० भन्दा बढी तहका डेटाबाट तालिम दिइएको छ। यसमा लुनार रिकग्निसन्स अर्बिटर (एलआरओ) बाट प्राप्त डेटा पनि समावेश गरिएको छ।
यो मोडेल आईबीएम र नासाका ‘प्रिथ्वी’ श्रृंखलाका ओपन फाउन्डेशन मोडेलसँग तुलनयोग्य छ, जसले भू-स्थानिक, मौसमसम्बन्धी लगायत विभिन्न क्षेत्रहरूमा काम गर्दै आएको छ। नयाँ मोडेलले अनुसन्धानकर्ताहरूलाई चन्द्रमाको सदैव छायाँ पर्ने भागमा रहेको सम्भावित बरफको स्थान पहिचान गर्न, सुरक्षित अवतरण स्थलहरूको खाल्टाहरू नक्सांकन गर्न र ज्वालामुखीय संरचना अध्ययन गर्न सहयोग पुर्याउनेछ। परम्परागत रूपमा यी कामहरूका लागि वैज्ञानिकहरूले म्यानुअल रूपमा नक्सा र तस्बिरहरू हेर्नुपर्ने अथवा कम रिजोल्युसन भएका मेसिन लर्निङ उपकरणहरूमा भरोसा गर्नुपर्ने हुन्थ्यो।
नासा र आईबीएमका अनुसार परीक्षण चरणमा यो मोडेलले अन्य प्रचलित विधिहरूको तुलनामा २३ प्रतिशत सम्म छिटो र सटीक रूपमा चन्द्र सतहका प्रमुख विशेषताहरू चिन्हित गरेको छ। चन्द्रमामा बरफको उपस्थिति पानी र अक्सिजन स्रोतको संभावना ल्याउँछ, जसमा अन्तरिक्ष एजेन्सीहरूले विशेष रुचि देखाएका छन्। भविष्यमा चन्द्रमामा स्थायी बेस वा स्टेशन निर्माण र मंगल ग्रहमा हुने अभियानका लागि आवश्यक रकेट इन्धन उत्पादनमा यी स्रोतहरू अत्यावश्यक हुनेछन्। नासाको आर्टेमिस कार्यक्रम अनुसार २०२६-२०२७ मा अन्तरिक्षयात्रीहरू पुनः चन्द्रमामा पठाउने योजना गरिएको छ, जसले दीर्घकालीन चन्द्र उपस्थिति र भविष्यका मंगल अभियानहरूका लागि नयाँ प्रविधी विकासमा मद्दत गर्नेछ। यो मोडेल हगिङ फेस प्लेटफर्ममा निःशुल्क उपलब्ध छ र यसको कोड गिटहबमा पनि राखिएको छ। भविष्यका अध्ययनहरूमा यस मोडेलले सहयोग गर्ने अपेक्षा गरिएको छ।






