
समाचार सारांश: हरितालिका तीज भाद्रशुक्ल प्रतिपदादेखि सुरु भएर ऋषिपञ्चमीको पूजासँगै समापन हुने नेपाली महिलाहरूको एक अत्यन्त लोकप्रिय पर्व हो। तीजको पहिलो दिन दर खाने चलन रहेको छ भने दोस्रो दिन महिलाहरू निराहार व्रत बसेर शिवजीको पूजा गर्दछन्। पुरुषहरूको सहभागिता तीज पर्वमा दिनप्रतिदिन बढ्दै गएको छ।
तीज नेपाली महिलाहरूको एक अत्यन्तै लोकप्रिय पर्व हो। वैदिक पात्रो अनुसार यो पर्व भाद्रशुक्ल प्रतिपदादेखि सुरु भएर पञ्चमीको पूजासँगै समाप्त हुन्छ। तीज परम्परागत रूपमा नेपाली तथा विशेष गरी हिन्दू नारीहरूको पवित्र पर्व हो। यस पर्वमा मिष्ठान्न भोजन, व्रत बस्ने, गीत गाउने, नाच्ने, गरगहना लगाउने, सफा-सफाइ, उपवास तथा ऋषिमुनिहरूको पूजा गरेर मनाइन्छ।
सामाजिक परिवर्तनसँगै तीजमा पनि समयक्रम अनुसार केही परिवर्तनहरू आएका छन्। छाडा गीतहरू, उत्ताउला नृत्य, विचित्र पोशाक तथा महिनौंसम्म अनावश्यक खानपिन र खर्च जस्ता तीजका केही विकृतिहरू देखिएका छन्। माइतीघरको नजिकाइ तीजसँग जोडिएको छ। वर्षभर माइत जान नपाएकी महिलाहरू तीजमा बाबु छोरासँगै माइत जान्छन्, मिठा परिकार खाँदै, दुःख-सुखका कुरा गर्दै, गीत मार्फत पीडाहरु साझा गर्दछन्। आधुनिक युगमा यी चलनहरूमा केही कमी आएको छ।
तीजका मुख्य चार दिनहरू
तीज पर्व मुख्य रूपमा चार दिनसम्म विभिन्न परम्परासहित मनाइन्छ।
- पहिलो दिन (दर खाने दिन): पहिलो दिन तीज अघिल्लो दिन पर्छ। विवाहित र अविवाहित दिदीबहिनीहरू परिवारका सदस्यसँग बसेर दाजुभाइबाट दर खान्छन्। मासु, दूध, दही, घिउ, फलफूलजस्ता विभिन्न परिकार दर भनिन्छ। रातभर नाचगान र रमाइलो गरिन्छ। विभिन्न संघसंस्थाले पनि दर कार्यक्रम आयोजना गर्छन्। यद्यपि अत्यधिक खुर्ची र अस्वाभाविक खानपिनले तीजमा केही विकृतिहरू देखिएको छ।
- दोस्रो दिन (हरितालिका तीज): यो सबैभन्दा पवित्र व्रतको दिन हो। महिलाहरू निराहार वा निर्जला व्रत बस्छन्। दिनभर नाचगान गरी बेलुका शिवजीको पूजा गर्छन्। धार्मिक कथाअनुसार सतीदेवी, पार्वती र शिवजीसँग सम्बन्धित दिन हो। विवाहित महिलाहरूले श्रीमानको सुखका लागि र अविवाहितहरूले राम्रो पति पाउन व्रत बस्छन्।
- तेस्रो दिन (गणेश चतुर्थी): तीजको अर्को दिन गणेश चतुर्थी पर्छ। यो भगवान गणेशको जन्म भएको पवित्र दिन मानिन्छ। पार्वतीजीले शिवजीको आशीर्वादले भगवान गणेशलाई गर्भाधान र प्रसव व्यथा बिना जन्म दिएको विश्वास छ र महिलाहरू यस दिन भगवान गणेशको पूजा गर्दछन्।
- चौथो दिन (ऋषिपञ्चमी): तीजको अन्तिम दिन ऋषिपञ्चमी पर्व मनाइन्छ। महिलाहरू उपवास बसेर सप्तऋषिहरूको पूजा गर्दछन्। बिहान स्नान, सफाई, पञ्चगव्य सेवन गरी सप्तऋषिहरूको पूजा गरी नाचगानसमेत गर्दै हरितालिका तीज समापन गरिन्छ।
तीज पर्वमा पुरुषहरूको सहभागिता
परम्परागत रूपमा तीजलाई महिलाको पर्व मानिए पनि अहिले पुरुषहरू पनि रमाइलो, नाचगान र खानपिनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। पुरुषहरूले महिलाहरुलाई तीजमा सहयता गर्ने, भेटघाट र घुमफिरको अवसर दिने तथा घरायसी काममा सहयोग गर्ने गर्दछन्। साथै, पुरुषहरूले परिकार बनाउने, सफाइमा सहकार्य गर्ने, उपहार दिने, मन्दिरसम्म साथ जाने र केहि पुरुषहरूले तीजको व्रत पनि बसेका छन्। सङ्गीत क्षेत्रमा पनि पुरुषहरूले तीज गीत निकाली बजार तताउने र नाचगान गर्ने काममा पनि आबद्ध छन्। आर्थिक रूपमा कपडा र गहना किन्ने कार्यमा पनि पुरुषहरूको व्यापक सहभागिता देखिन्छ।
अन्तमा, तीजलाई धार्मिक र पौराणिक रूपमा आदरपूर्वक मनाउनु आवश्यक छ। विकृतिहरूलाई न्यून गर्न र धर्म, संस्कृति तथा परम्पराको संरक्षणमा सजग रहनुपर्छ। तीज मात्र नभई अन्य चाडपर्वहरूमा पनि विकृति र पश्चिमी संस्कृतिको प्रभाव घटाउँदै चाडपर्वलाई सरल, सादगीपूर्ण र लागतमैत्री बनाउन विशेष ध्यान दिन जरुरी छ।
हरितालिका तीज २०८३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई हार्दिक शुभकामना।
(डा. नरनाथ पाण्डे, नवरपुर कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक)






