Skip to main content

गाउँको भूगोलचित्र

हिजो मात्र सिंगो थियो गाउँ, सिङ्गो थियो बस्ती। आकाश जस्तै फराकिला आँगनमा खेल्थे केटाकेटीहरू। गोठमा बाँधिएका हुन्थे वस्तुभाउ। स्कुल जाने हतारोमा सानो-सानो नानीहरू कुरिरहेका हुन्थे। स्कुल बस आमाहरू भान्सामा व्यस्त हुन्थे। अचाक्ली भयो- बाढीको पहाड खस्यो, शिरमाथि पल्टायो घर, बगायो गाडी र मान्छेहरू। निमेषमै गाउँ माटो भयो। माटो कुन्नी के भयो? यहाँ त्यहाँ छन् झैं लाग्छ दराज, पलङ र भाँडाकुँडा। झोला, किताब र टिफिन बक्स अहिले भत्किएका छन्। पुलहरू जसले जोड्थे सम्बन्धहरूलाई, अहिले हराएका छन्। सडकहरू जसले जोड्थे हराएका यात्रुहरूलाई। ठिक अहिले पहाडको पेटभित्र अँध्यारो सुरुङमा थुनिएको छ कामदार। पुरिएका भग्नावशेष भित्र निसास्सिएका छन् लासहरू। हराएको छ मानिसको सम्झना। म सोचिरहेछु – घर बन्न सक्छ फेरि, पुल उठ्न सक्छ फेरि, सडक खुल्न सक्छ फेरि, स्कुल रंगीन हुन सक्छ फेरि। म सोचिरहेछु – आमाको काखबाट बगेको सन्तान कुन दिन फर्कन्छ? बुबाको काँधबाट झरेको सपना कुन इँटाले उठाउँछ? माटोमुनि पुरिएको नाम फेरि कुन बिहानले बोलाउँछ? म समयलाई प्रश्न सोध्न चाहन्छु। हाँसिरहेको देश ठूलो हुन्छ कि रोइरहेको खाली-खाली गाउँ? गाउँ बाढी।