जाभा सागरमा इन्डोनेशियाली यात्रीबाहक पानीजहाज वेपत्ता: १०२ जना उद्धार, १ जनाको मृत्यु

जाभा सागरमा समस्यामा परेको इन्डोनेशियाको यात्रुवाहक पानीजहाजका एक जना यात्रुको मृत्यु भएको र १०२ जना यात्रु उद्धार गरिएको एक अधिकारीले जानकारी दिनुभएको छ। खराब मौसमका कारण २४३ जना सवार ‘भर्गो ट्रान्सपोर्ट ८’ पानीजहाजसँग सम्पर्क विच्छेद भएको थियो।
इन्डोनेशियाको खोज र उद्धार निकायले उक्त पानीजहाजको खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ। अहिलेसम्म बाँकी यात्रुहरुको खोजी जारी रहेको छ। यो पानीजहाज सुराबायाबाट दक्षिण कालिमन्तानको बन्जारमासिनतर्फ जाँदै गरेको थियो। आइतबार स्थानीय समयअनुसार बिहान करिब २ बजे बन्जारमासिनबाट १५० किलोमिटर दक्षिणमा अन्तिम पटक सम्पर्कमा आएको थियो।
घटनास्थलमा खोज तथा उद्धार कार्यका लागि पानीजहाज र हेलिकप्टर परिचालन गरिएको जनाइएको छ। जाभा सागर क्षेत्रका अन्य पानीजहाजहरूलाई यात्रुहरूको अवस्थाबारे कुनै सूचना प्राप्त भएमा जानकारी गराउन आग्रह गरिएको छ। गत महिनामा मादुरा टापु नजिकै एउटा पानीजहाजमा आगलागी हुँदा पाँच जनाले ज्यान गुमाएका थिए। इन्डोनेशियाली द्वीपसमूहमा १७,००० भन्दा बढी टापुहरू छन् जहाँ पानीजहाज यातायातको प्रमुख माध्यमको रूपमा व्यापक रूपमा प्रयोग हुन्छ।






