Skip to main content

वाईसीएलले बाढीपीडित क्षेत्रमा १५० अस्थायी आवास निर्माण गर्ने योजना अघि बढायो

२८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन वाईसीएलले बाढीपीडित क्षेत्रमा १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना अघि बढाएको छ। पहिलो चरणमा नुवाकोटको बेलकोटगढी–७ अन्तर्गत ठुलो खोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारहरूको लागि १५० वटा अस्थायी आवासहरू तयार गरिने वाईसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी दिएका छन्।

ओलीका अनुसार, बाढी प्रभावित क्षेत्रमा वाईसीएलले ६०० जना स्वयंसेवकहरूलाई उद्धार र राहत कार्यमा नियमित परिचालन गर्दै आएको छ। प्रभावित क्षेत्रहरूमा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धारका साथै घाइतेहरूको उपचार, खाद्यान्न र आवश्यक राहत सामग्री उपलब्ध गराउन संगठन सक्रिय रूपमा लागिपरेको उहाँले बताए।

रसुवा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रिक्स लगायतका सामग्रीहरू समेत उद्धारमा पुर्‍याइएको संगठनले बताएको छ। त्रिशुली नदीपारी सडक सञ्जाल विच्छेद भएपछि धादिङको बाटो हुँदै विदुर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा राहत सामग्री पुर्‍याइएको ओलीले बताए।

“अहिलेसम्म पनि प्रभावित परिवारको घरपेटी सफा गर्न सकिएको छैन र बस्ने सुरक्षित ठाउँ पनि तोकिएको छैन,” ओलीले भने, “यही समस्या लक्षित गर्दै अस्थायी आवास निर्माणको काम थालिनेछ।”