ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले शक्तिको बलमा मनोमानी नगर्न सन्देश दिए

२८ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिको बलमा मनोमानी लाद्ने प्रचलन हुनु हुँदैन भनेका छन् । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् । सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै अघि नै छोडिसक्नु पर्ने बताएका छन् । उनले विश्वका सबै देशहरू ठूला हुन् वा साना, धनी हुन् वा गरिब सबै सम्मानका योग्य हुने बताए ।
‘विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई अझ बलियो बनाउनुपर्छ। ताकि अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्न सकियोस्,’ उनले भने। राष्ट्रपति सीले हालको विश्व परिस्थिति अत्यन्तै अस्थिर रहेकोमा चिन्ता व्यक्त गरे। ‘यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्छ,’ उनले भनिरहे।
उस्तै गरी, सीले नियमबिनाको विश्व ‘अराजकता र अव्यवस्था’तर्फ लैजाने जोखिम भएकाले अन्तर्राष्ट्रिय नियम सबै देशहरूको सहभागितामा निर्माण हुनुपर्ने बताए। ‘नियमबिनाको विश्व ट्राफिक बत्ती नभएको चोक जस्तै हो, जहाँ अराजकता र अव्यवस्था लगभग निश्चित हुन्छ,’ उनले भने, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ।’ ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको संयुक्त रूपमा रक्षा गर्नुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिए। ‘सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको संरक्षण गर्नुपर्छ,’ उनले भने।






