
पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति र एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ। काठमाडौँको भेलोसिटी एरिनामा शनिबार भएको फाइनल खेलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गरेको हो। अमित श्रेष्ठले ३ विकेट लिएर ‘प्लेयर अफ द फाइनल’ उपाधि प्राप्त गरे भने हरिओम जोशीलाई प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित गरियो।
फाइनल खेलमा पोखराले पहिलो ब्याटिङ गर्दै ७९ रन बनाएको थियो। पोखराको इनिङ्स संकटमा परेका बेला अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोर बनाइदिए। ८० रनको लक्ष्य पछ्याएको बुटवलका ब्याट्सम्यानहरूले लय समात्न सकेनन्। अमितले तीन विकेट लिएपछि बुटवल १७ रनले पछि परेर उपाधिबाट वञ्चित रह्यो।
सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी थिए र कुल ४९ खेलहरू भएको थियो। च्याम्पियन पोखराले पाँच लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता बुटवलले दुई लाख रुपैयाँसहित पदक पाएर सन्तुष्ट रह्यो। अलराउन्ड प्रदर्शन गर्ने अमित श्रेष्ठ ‘प्लेयर अफ द फाइनल’ घोषित भए। पोखराकै आश्रय बस्नेत उत्कृष्ट ब्याटर बनेर १५ हजार रुपैयाँ पाए भने काठमाडौं कैलाश किंग्सका गौतम केसी उत्कृष्ट बलर घोषित भए। हरिओम जोशीले २५ हजार रुपैयाँसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको सम्मान पाए भने काठमाडौंका सन्तोष रोकायाले १० हजार रुपैयाँसहित ‘इमर्जिङ प्लेयर’को उपाधि हात पारे।






