युक्रेनी रेलमा रूसी आक्रमण, बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि

२९ भदौ, काठमाडौं । युक्रेनको पोल्यान्ड सीमा नजिकै याहोदिन क्षेत्रमा रहेको यात्रुवाहक रेललाई रूसी ड्रोनले निशाना बनाएको छ। आक्रमणले रेलको इन्जिनमा क्षति पुर्याएको छ। तथापि, यस घटनामा कुनै पनि मानिस हताहत भएको खबर आएको छैन। बेलायती पूर्वप्रधानमन्त्रीसहित युरोपका ठूला सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल यही मार्गबाट केही समयअघि गुज्रिएको थियो।
युक्रेनी अधिकारीहरूको जानकारीअनुसार, उक्त आक्रमण याहोदिनमा भएको हो, जुन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा छ। बोरिस जोनसनसहित युरोपेली देशका धेरै राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग हुँदै गएका थिए। जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि समावेश थिए। सबै अधिकारीहरू किभमा आयोजना गरिएको एक सम्मेलनमा सहभागी भएर फर्कंदै थिए। रूसले पनि यस आक्रमणको पुष्टि गरेको छ।
रूसी पक्षका अनुसार, पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई लक्ष्य गरेर यो आक्रमण गरिएको हो। तर युक्रेनी सरकारी रेलवे कम्पनीले ड्रोनको वास्तविक लक्ष्य कूटनीतिकहरू सवार रेल हुनसक्ने आशंका व्यक्त गरेको छ। रेलवे कम्पनीका अनुसार, समयतालिका परिवर्तनका कारण कूटनीतिकहरू सवार उक्त रेल निर्धारित समयभन्दा पहिले नै स्टेशनबाट विदा भइसकेको थियो। लगातार भइरहेका रूसी हवाई आक्रमणको जोखिमलाई ध्यानमा राख्दै रेलको समय परिवर्तन गरिएको थियो। कम्पनीले जनाएको छ कि जस रेलमाथि ड्रोनले आक्रमण गर्यो, त्यसका यात्रुहरूलाई रेलबाट झर्न १५ मिनेटअघि मात्र आदेश दिइएको थियो। तत्पश्चात् रूसी जेट-प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई लक्षित गर्यो।






